५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने



अ+ अ-

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ ।

समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

उक्त समयपश्चात् इच्छुक पर्यटकहरुले केबुलकार रिजर्भ गरी केबुलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन् । केबुलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ । उहाँले भन्नुभयो, “रेष्टुरेन्टका लागि रु. २५ हजार शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ ।”

केबुलकार भित्रै शौचालय सहितको सुविधासम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उहाँले बताउनुभयो । अघिल्लो दसँैदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उहाँले बताउनुभयो ।

आगामी नयाँ वर्षदेखि केबुकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले जानकारी दिनुभयो । केबुलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उहाँले बताउनुभयो । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छसय मिटर दूरीको यात्रा गर्न पाउनेछन् ।

एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेको बताइएको छ । केबुलकार र चारतारे होटल निर्माणसहित कूल रु। तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताउनुभयो । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उहाँले जानकारी दिनुभयो ।

केबुलकारसँगै आइपिओ सुरु

यसैगरी बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले केबुलकारसँगै आइपिओ सुरु गर्ने जनाएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताउनुभयो ।

शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई शेयर वितरण गरेको छ । उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।