२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला



अ+ अ-

नवलपुर । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताउनुभयो । “सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो” उहाँले भन्नुभयो, “नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो ।” गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको छ । नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ । नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन् । नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको भन्दै उहाँले अहिले नारायणीमा पानीको बहाब सामान्य रहेको जानकारी दिनुभयो । नवलपुरको गैँडाकोटसहित पाँच वटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन् ।

त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ । हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन् । आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।