८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

वडामा कुर्सीका सट्टा गुन्द्री र पिरा, प्रधानमन्त्री आउनुभयो भने गुन्द्रीमै बसाउँछु: अध्यक्ष कार्की

वडामा कुर्सीका सट्टा गुन्द्री र पिरा, प्रधानमन्त्री आउनुभयो भने गुन्द्रीमै बसाउँछु: अध्यक्ष कार्की
अ+ अ-

झापा । “मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।

गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो । त्यसयता सो वडामा प्रधानमन्त्री आउनुभएको छैन तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुग्नुभएको छ, उहाँहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गर्नुभएको छ ।

भारतबाट मेची नदी तरेर सयको सङ्ख्यामा दिनका दिन जङ्गली हात्तीको हुल भित्रिने गौडाको रुपमा मुलुकमै परिचित बाहुनडाँगी क्षेत्रमा कार्की वडाध्यक्ष हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ । वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन् ।

“वडावासी विहान खाए बेलुकी के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ”, कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ, “ जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौँ हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु ?”

विसंं २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गर्दा उहाँ समाचारमा भाइरल बन्नुभयो । स्थानीयदेखि राष्ट्रिय तहका सञ्चारमाध्यमहरूले ‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर चर्चा गरे । कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे ।

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गर्नुभएको छैन । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत घरेलु गुन्द्री र पिरा छाड्नुभएको छैन । कार्यालयमा आउने पाहुनालाई पनि उहाँँले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गर्नुभएको छ ।

“कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने सङ्कल्प बोकेर जनताको सेवामा जुटेको छु”, उहाँ भन्नुहुन्छ, “बाहिर आउने गरेका नराम्रा प्रतिक्रियाबाट म हत्तोत्साहित छैन र राम्रा प्रतिक्रियाबाट हौसिएको पनि छैन । म बिलासी जीवन बिताउन वडाध्यक्ष बनेकै होइन । जनताको घरमा चुलो नबल्ने अवस्था छ । म चाहिँ तिनै जनताको तिरोबाट घुम्ने कुर्सी किनेर वाहियात खर्च गर्न चाहन्न ।”

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमूना गाउँ बनाउने सपना साच्नुभएको वडाध्यक्ष कार्की विगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता हुनुहुन्छ । वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै उहाँको वडामा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसुलगायतका पाहुना भ्रमणमा आउनुभयो । साउन ११ गते आउनुभएका महावाणिज्यदूत पौडेललाई वडाध्यक्ष कार्कीले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल गर्नुभयो ।

त्यसैगरी, खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आउनुभयो । दुबै वडाबीचको भगिनी सम्बन्धको दस्तावेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको थियो । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती वडा कार्यालयको निरीक्षणमा पुग्नुहुँदा उहाँलाई वडाध्यक्ष कार्कीले पिरामा बसाउँदै वडावासीका समस्या सुनाउनुभयो । गत जेठ २० गते नेपाल भारत सीमाको दशगजा नजिक मेची नदीको किनारमा पत्रकार सम्मेलनको आयोजना गरी वातावरण संरक्षणबारे आफ्ना योजना सुनाउनुभयो । उक्त पत्रकार सम्मेलनमा समेत वडाध्यक्ष कार्कीले मकैको खोसेलाबाट बनेको पिरामा बसेर पत्रकारको सवालको जवाफ दिनुभएको थियो ।

बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उहाँले २० वटा पिरा र छवटा गुन्द्री राख्नुभएको छ । वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जन बढी बैठक गुन्द्री–पिरामै बसेर गरिएको कार्कीले जानकारी दिनुभयो । पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकका लागि बाँसका मुडाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन् । गुन्द्री–पिरा अभियानबाट वडावासी खुसी भएको कार्कीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “घरेलु हस्तकला र सीपको सम्मान र प्रवद्र्धनमा यो अभियानले सघाउ पुर्याएको छ ।” ज्येष्ठ नागरिकलाई निःशुल्क वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं ४ र तेह्रथुमबाट उहाँले घुँघुरोका चार सय लौरो मगाउनुभएको छ । वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरुवा आफ्नो कार्यकालभरिमा हुर्काउने उहाँको योजना छ ।