• ३ भाद्र २०७९, शुक्रबार
  •      Fri Aug 19 2022
Logo
Latest
★   उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने ★   तनहुँ–१ बाटै चुनाव लड्छु: वरिष्ठ नेता पौडेल ★   भक्तपुरको गाईजात्रा सम्पन्न ★   राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा–अर्चना (फोटोफिचर) ★   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने ★   बाढीले गर्दा मेलम्ची–हेलम्बु सडक अवरुद्ध ★   एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने ★   एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्दैछः योगेशकुमार भट्टराई ★   एकीकृत समाजवादीको उम्मेदवार छनोटको लागि गृहकार्य सुरु ★   काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा

शिवलिङ्ग र महादेवमा के फरक छ ?



परमात्माको आकारलाई आधार बनाए निर्माण गरिएको विश्वको पहिलो मूर्ति शिवलिङ्ग हो । शिव शब्दले परमात्मा र लिङ्ग शब्दले चिह्न वा मूर्ति भन्ने बताउँछ । आर्यावर्तमा जति पनि शिवालयहरु छन् सबैमा शिवलिङ्ग राखिएको छ त्यहाँ महादेवको मूर्ति छैन ।

शिवलिङ्ग निराका ईश्वरको स्वरुप हो भने महादेव प्रलयकारी देवता हुन् अर्थात् शिवलिङ्गबाट उत्पन्न भएका एक अंश हुन् । शिव, महादेव, रुद्र, नीलकण्ठलाई एकै तत्त्व र रूपमा बुझ्ने गरेको पाइन्छ । लामो समयदेखिको भ्रमपूर्ण अभ्यास एवं गलत व्याख्याले यस्तो हुन पुगेको हो ।

विष्णु क्षीरसागरमा सुतेर योगनिद्राका माध्यमबाट, ब्रम्हाले कमलको फूलमाथि बसेर, महादेवले हिमालयमा आसन कसेर कुनै तत्बको ध्यान गरिरहेको पुराणहरूमा पढ्न पाइन्छ । यिनीहरू परमात्मा भए अरूको ध्यान किन गर्छन् ? पुराणहरूअनुसार महादेव, विष्णु, देवी, गणेश, ब्रम्हा आदि ठूलो देखिन्छन् ।

एउटै धर्मका ग्रन्थहरूमा देखिएका यी शंकास्पद कथनहरूले कसलाई पूजा गर्ने ? को मुख्य देवता हो ? भन्ने विवाद देखिन्छ । भिन्न भिन्न व्याख्या र तर्ककै कारण वैदिक सनातनधर्मभित्र शैव, वैष्णव, सौर्य, गाणपत, शाक्तलगायतका सम्प्रदायको जन्म हुन पुग्यो । पुराणको रहस्य र मूलमर्मलाई कथाका रूपमा होइन ज्ञानको स्वरुपमा, मिथकका रुपमा बुझ्नुपर्छ ।

ब्रम्हा विष्णुर्महेशश्च त्रयो देवाः शिवांशजाः ।
महेशस्तत्र पूर्णांशः स्वयमेव शिवः परः ।।
–शिवपुराण (रुद्रसंहिता, सृष्टिखण्ड ५।३०)

अर्थात् “शिवकै अंशबाट ब्रम्हा, विष्णु, महेश्वर तीन देवको उत्पत्ति भएको हो । उहाँहरूमध्ये महेशचाहिँ शिवको पूर्ण अंश हुनुुहुन्छ, त्यसैले स्वयं परमात्मा हुनुहुन्छ ।” शिवलिङ्ग बाहेकका मूर्ति राखेको मन्दिरलाई देवालय र शिवलिङ्ग राखेको मन्दिरलाई शिवालय भनिन्छ ।

शिव र महादेवमा आकाश पातालको भिन्नता छ । निराकारलाई शिव भनिन्छ । जटाधारी, गंगाधारी, त्रिशूलधारी, डम्बरुधारी एवं छिटै खुसी हुने देवताका रूपमा भोलेनाथ, औषधि एवं उपचारका आद्यदेवताका रूपमा वैद्यनाथ, नृत्य सम्राट्का रूपमा नटराज नामले महादेवलाई चिनिन्छ ।

भूत, प्रेत, योगिनी, बोक्सी आदिका अभिभावक भएकाले भूतेश (भूतराज), सबै देवीदेवताका अग्रज, चौधसूत्रका जन्मदाताका रूपमा महादेवलाई चिन्दछौँ । शिवबाट महादेवको उत्पत्ति भयो । बाणभट्टले कादम्बरीको मड्डलाचरणमा भन्नुभएको छ ।

रजोजुषे जन्मनि सत्त्ववृत्तये स्थितौ प्रजानां प्रलये तमस्पृशे
अजाय सर्गस्थितिनाशहेतवे त्रयीममाय त्रिगुणात्मने नमः ।।१।।

अर्थात् “सृष्टि गर्दा रजोगुण स्वरूप, पालन गर्दा विष्णुस्वरूप, प्रलय गर्दा संहाररूप बनेर विनाश गर्नुहुन्छ । यस्ता त्रिगुणात्मक स्वरूप शिवलाई नमस्कार छ ।” शिव एक छन्, नित्य छन्, दोष र गन्धरहित छन्, निरतिशयसुख र ब्रéचैतन्य हुन् । मेची, कोशी, गण्डकी, कर्णाली, गंगा, सरस्वती, नाइल, अमेजन आदि जुनसुकै नदीमा सूर्य देखे पनि सूर्य फरक हुँदैन एउटै हुन्छ । त्यसरी नै ब्रम्हा, विष्णु र महेशरूपमा देखे पनि शिव हुनुहुन्छ ।

यथा तथा न भिद्यन्ते शैवा माहेश्वरा अपि ।
शिवाश्रिता हि ते शैवा ज्ञानयज्ञरता नराः ।।
माहेश्वराः समाख्याता कर्मयज्ञरता भुवि ।
तस्मादाभ्यन्तरे कुर्युः शैवा माहेश्वरा बहिः ।।
–शिवपुराण (वायवीयसंहिता २९।९–१०)

अर्थात् “शैव र महेश्वरमा धेरै भिन्नता छैन । शिवमा विश्वास गर्ने एवं ज्ञानमार्गमा लागेकाहरू शैव हुन् भने कर्ममा रत भई महेश्वर (महादेव)मा विश्वास गर्ने माहेश्वर हुन् । यसैले शैवहरूले भित्रि र माहेश्वरहरूले बाहिरी कार्य गर्नुपर्छ ।” शिवलाई ज्ञानमार्गद्वारा प्राप्त गर्न सकिन्छ ।

ऋषिमुनिहरूले भक्तिमार्ग, उपासनामार्ग र ज्ञानमार्गमा सर्वोत्तम उपाय ज्ञानमार्गलाई मानेका छन् । ज्ञानमार्गमा लाग्नेहरू कामनारहित हुन्छन् । लाभका लागि अनुष्ठान गर्दैनन् ।

फलको आसा गर्नेले महादेवको पूजा गर्नुपर्छ । दक्षप्रजापतिकी छोरी सतीदेवी र हिमालयकी पुत्री पार्वती विवाह गर्ने महादेव हुन् । शिव निराकार भएकाले विवाह वा जीवको काम गर्दैनन् । निम्नानुसार शिव र महादेवमा फरक छ ।

–शिव निराकार हुनुहुन्छ, महादेव भने शिरमा चन्द्रमा र गंगा, घाँटीमा वासुकि सर्प, शरीरमा भस्म लेपन गर्ने देहधारी हुनुहुन्छ ।
–शिवको जन्म हुँदैन । शिवको अंश महादेव भने महादेवको एक अंश रुद्र हो ।

–महादेवको सतीदेवी र पार्वतीसँग विवाह भएको छ । गणेश र कुमार उहाँका पुत्र हुन् । शिव सबैका मातापिता हुन् । उहाँको निश्चित परिवार छैन ।

–शिवलाई मूर्तिको रूपमा शिवलिङ्ग , वाक्यका रूपमा ‘नमः शिवाय’ र शब्दका रूपमा ॐले बुझिन्छ तर महादेवलाई रुद्र, गंगाधर, नीलकण्ड आदि नामले चिनिन्छ ।

–शिव को बाहान नन्दी हो तर महादेवको रथको ध्वजामा नन्दी रहन्छन् ।

–महादेवका अनेक अवतार भएका छन् तर शिवको पुनर्जन्म र अवतार छैन ।

–महादेवले हिमालयमा बसेर निरन्तर शिवमा ध्यानमग्न हुनुहुन्छ ।

–शिव कहिल्यै नष्ट हुनुहुन्न तर महादेव निश्चित कल्पपछि विसर्जन हुनुहुन्छ ।

–शिव पूज्नेलाई सनातनधर्म भनिन्छ, महादेव पूज्नेलाई माहेश्वर सम्प्रदाय भनिन्छ ।

–शिवबाट पहिले उत्पन्न भएकाले महादेवलाई शिवकै स्थान दिइएको हो ।

–शिवमूर्तिमा ‘नाथ’ र ‘ईश्वर’ जोडिन्छ जस्तै रुद्रागेश्वर, सोमनाथ, किरातेश्वर तर महादेवको नाममा स्थापित मन्दिरमा ‘महादेव’मात्र जोडिन्छ जस्तै हलेशीमहादेव ।

–सत्य, अनन्त र आनन्द नै शिव हो । महादेव देवता हुन् शिवचाहिँ परमात्मा हुन् ।

–शिवको निवासलाई शिवालय भनिन्छ र शिवलिड्ड राखिन्छ । महादेवको मूर्ति भएको मन्दिरलाई देवालय भनिन्छ ।

शिवो दाता शिवो भक्ता शिवः सर्वमिदं जगत् ।
शिवो यजति सर्वत्र यः शिवः सोग्मेव तु ।।
–ईशानशिवगुरुदेवपद्धति (सिद्धान्तसार १३।१२६)

अर्थात् “शिव नै दाता हुन्, भक्ता हुन्, यी सबै जगत् उनै हुन् । उनकै पूजा सर्वत्र हुन्छ, जो शिव हुन् त्यही म हूँ ।” वेदले ईश्वरको भन्दा ज्ञान र आत्माको चर्चा गरेको छ । आत्मा नै शिव हो । शिव अक्रिय छ, साक्षी हो, द्रष्टा हो तर महादेव मृत्युका अधिपति हुन् । ‘यः कल्याणं सुखं करोति स शङ्गरः’ जो कल्याण अर्थात् सुख प्रदान गर्दछ त्यसलाई शङ्गर भनिन्छ । ‘यो महतां देवः स महादेवः’ देवताहरूमा ठूला मानिएका नै महादेव हुन् । देवताको अर्थ प्रकाश हुन्छ, देवता शरीरधारी हुन्छन् ।

शिवाश्रितेषु ते शैवा ज्ञानयज्ञरता नराः ।।
माहेश्वराः समाख्याताः कर्मयज्ञरता भुवि ।
तस्मादाभ्यन्तरे कुर्युः शैवा माहेश्वरा बहिः ।।
–श्रीसिद्धान्तशिखामणि (५।२०–२१)

अर्थात् “शिवमा आश्रितहरू शैव हुन् जो ज्ञानमा लागि परेका हुन्छन् । महेश्वर भनिनेहरू कर्ममा रत हुन्छन् । त्यसकारण भित्रि ज्ञानमा शैव र बाहिरी कर्ममा महेश्वर सम्प्रदायका साधकहरू लाग्दछन् ।” महेश्वरहरूलाई साधनाका लागि मूर्ति वा विग्रहविशेष आवश्यक पर्छ, शिव मान्नेलाई विग्रहविशेषको जरुरत पर्दैन । शैवहरू संसारबाट विरक्त हुन्छन् । शिवस्वरुपमा शिवलिङ्ग पुजिन्छ, महादेवको स्वरुपमा जटाधारी पार्वतीको श्रीमानकाे  मूर्तिलाई लिइन्छ ।

शिवलिङ्गको सबैभन्दा तल्लोभागलाई ब्रह्मा, जलहरी भएको भागलाई विष्णु र त्यसमाथिको भागलाई महादेवभाग भनिन्छ । ब्रह्माण्डका सम्पूर्ण शक्ति र तत्वलाई सारस्वरुपमा बुझ्न शिवलिङ्गको मूर्ति तयार गरियो भने रुद्र, भैरव आदिको अधिनायक वा कालका पनि काल अर्थात् महाकालका रुपमा महादेवको मूर्ति बनाइयो ।

देवीदेवतामध्ये सर्वाधिक शक्ति भएकाले महादेवलाई ठूला देवता भनियो तर शिवलिङ्ग देवता होइनन् परमात्मा हुन् । मूर्ति, स्वरुप, कार्य क्षमता, आर्षग्रन्थहरुको व्याख्यानलाई ध्यान दिने हो भने शिव र महादेवबीच आकाश एवं जमिनको जस्तै भिन्नता छ ।