• ३ भाद्र २०७९, शुक्रबार
  •      Fri Aug 19 2022
Logo
Latest
★   भक्तपुरको गाईजात्रा सम्पन्न ★   राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा–अर्चना (फोटोफिचर) ★   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने ★   बाढीले गर्दा मेलम्ची–हेलम्बु सडक अवरुद्ध ★   एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने ★   एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्दैछः योगेशकुमार भट्टराई ★   एकीकृत समाजवादीको उम्मेदवार छनोटको लागि गृहकार्य सुरु ★   काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा ★   निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता ★   कस्तो छ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था ?

शिवलिङ्ग के हो ?



ईश्वरलाई चिनाउने, ब्रम्हाण्डका रहस्यलाई सजिलै बुझाउने, विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई देखाउने पहिलो मूर्ति (तस्विर) शिवलिङ्ग’ हो । शिवलिङ्ग अद्भूत यन्त्र, ऊर्जाशील मूर्ति हो । यसले ब्रम्हाण्डमा रहेका अनेकौँ शक्ति (ऊर्जा)लाई तान्न, सन्तुलनमा राख्न र रहस्यलाई बुझ्न सहयोग गर्छ ।

ईश्वरको स्वरुप, ब्रम्हाण्डको आकार, वेदको ज्ञान र पौरस्त्य विज्ञानलाई समेटेर निर्माण गरिएको मूर्तिकलाको ठूलो उपलब्धी नै शिवलिङ्ग हो । यसलाई देवीदेवता र राक्षसले मात्र होइन प्रकृतिले समेत निर्माण गरी पुजेको इतिहास छ ।

प्रकृतिले बनाएको पहिलो शिवलिङ्ग कैलाशपर्वत, सगरमाथा, किलिमञ्जारो, हिन्दकुश, पाथीभरा आदि पर्वतश्रृङ्खलाहरू हुन् । हिउँले निर्माण गरेको शिवलिङ्ग अमरनाथ हो, परमात्मा स्वयंले तयार गरेको शिवलिङ्गभने ब्रम्हाण्ड हो । मुन्धुमका अनुसार “सुम्निमा र पारुहाङले पृथ्वीलाई छोडेर आकाशतिर गएपछि उनीहरूको शरीर नै ढुङ्का भयो, त्यसलाई उभौली उधौलीमा पूजा गर्न थाले । यस शिलालाई साकेन्वालुङ भनिन्छ । होङछा भन्ने व्यक्तिले साकेन्वालुङ (सुप्तुलुङ) स्थापना गरेको एवं उनीले यसलाई क्रमशः विभिन्न शक्तिको रूपमा दिवालुङ, दिमालुङ र तायालुङमा विभाजन गरेको” किम्बदन्ती पाइन्छ । अरूण उपत्यकाको तुम्लिङ्टारस्थित लुङपोखरीनजिकै रहेको एक शिलालाई पारुहाङ र सुम्निमाको रूपमा दर्शन गर्न पुग्ने गरेको देखिन्छ । यसरी किरातवर्गले पारुहाङ र सुम्निमाको यादमा अन्ततः शिवलिङ्गकै पूजा गर्दछन् ।

कालीगण्डकी किनारमा अवस्थित गलेश्वरधाममा शालग्रामका रूपमा शिवलिड्डको उत्पत्ति भएको छ, जसलाई ‘ढुड्डा पलाएको’ भनिन्छ । शिवलिङ्गको उत्पत्ति कतिपय स्थानमा ढुड्डा पलाएर, कतै पहाड उठेर, कतै माटो थुप्रिएर, कतै बालुवा जम्मा भएर, कतै हिउँ जमेर निर्माण भएका छन् । शिवलिङ्गको लोकप्रियताकै कारण उपत्यकाका अधिकांश पुराना धारापँधेराको स्वरूप पनि शिवलिङ्गको आकारमा निर्माण गरियो ।

अवशेषका रूपमा रहेका पुराना धाराकुवाहरू जलहरी आकारभित्र निर्माण गरेको भेटिन्छन् । आकाशीय पिण्डहरूले आपसमा मिलेर शिवलिङ्ग बनाएका छन् । ब्रम्हाण्डमा चौध लोक छन् । प्रत्येक लोकमा ३३ कोटी देवीदेवताहरूको निवास छ । चौध लोकका सबै देवीदेवतालाई अल्पज्ञान र छोटो आयुवाला कलियुगका मानिसबाट पूजा, उपासना सम्भव छैन । सबै देवीदेवतालाई एकै ठाउँमा राखेर पूजा गर्न जुन आकार बनाइयो, त्यसलाई शिवलिङ्ग भनियो । त्यसैले शिवलिङ्गको स्वरूप ब्रम्हा, विष्णु, महादेवको जस्तो छैन, न त जनावर, न त पंक्षी, न त सरिसृपको जस्तो छ, न त कुनै धर्मगुरु र धर्मप्रवर्तकहरूसँग मेल खाने किसिमको छ । यसको न त टाउको छ, न त हात खुट्टा, न त शरीर नै त्यसकारण शिवलिङ्ग र शालग्राम परमात्माका साक्षात् मूर्ति हुन् ।

न लिड्डाच्चापरो देवो धर्मकामार्थ मोक्षदः ।
इदं चैव जगत् सर्वं लिड्डरूपे लयं गतम् ।।
लयं गताश्च कल्पान्ते लिड्डे जीवानुरूपकाः ।
उद्भूतं च पुनर्लिड्डाज्जगत्स्थावरजड्डमम् ।।
–अपराजितपृच्छा (१९६।५५–५६)

अर्थात् “शिवलिङ्गबाहेक अरू कुनै देवता धर्म, अर्थ, काम र मोक्षका दाता छैनन् । सबै जगत् लिङ्गरूपमा छ, कल्पको अन्तमा सबैको नाश हुँदा जीवहरू लिङ्गमा विलीन हुन्छन् र सृष्टिको प्रारम्भमा लिङ्गबाट उत्पन्न भएर स्थावर, जड्डमरूपमा जन्मन आउँछन् ।” ब्रम्हाण्ड नष्ट हुँदा सबै प्राणीको अस्तित्व सुरक्षित रहने ठाउँलाई शिवलिङ्ग भनिन्छ ।

युरोपमा पुनर्जागरणपछि जन्मिएको भौतिकविज्ञानले प्रत्यक्षवादलाई मात्र आत्मसात गरेको छ । प्रविधिले देख्न र बुझ्न नसकेको विषयलाई जान्न अध्यात्मविज्ञानको चाहिन्छ । अज्ञातलाई आफैँले अनुभूत गर्ने अध्यात्मविज्ञान, अरूको सहयोगले बुझ्ने भौतिकविज्ञानभन्दा उच्चकोटिको ज्ञानराशि हो । भौतिकविज्ञानलाई सत्यतथ्य पत्तालगाउन यन्त्र, उपकरण, प्रयोगशाला चाहिन्छ । अध्यात्मविज्ञानको सबैभन्दा ठूलो यन्त्र भनेकै साधना, गुरुकृपा, श्रद्धा र विश्वास हो ।

भौतिकविज्ञानले आँखाको विश्वास गर्छ, आध्यात्मिक विज्ञानले गुरु र शास्त्रलाई समेत विश्वास गर्दछ । भौतिकविज्ञानले विनाशी कुरालाई मात्र पत्ता लगाउँछ, अध्यात्मविज्ञानले शान्ति र अविनाशी तत्वलाई पनि चिनाउँछ । ब्रम्हा , विष्णु, महादेव, देवी, ऋषिमुनिहरू भौतिकविज्ञानमात्र होइन आध्यात्मिक विज्ञानका पनि स्रष्टा हुन् ।

शिवलिङ्गचाहिँ अध्यात्म विज्ञानको ठूलो उपलब्धी र सम्पत्ति हो । शिवलिङ्ग ब्रम्हाण्डको रहस्य बुझ्न सहयोग गर्ने परमात्माको मूर्ति हो, जसलाई बुझ्न सूक्ष्मबुद्धिको उच्चतम विकास हुनुपर्छ ।

मानव निर्मित होस् वा प्रकृतिले सजाएको शिवलिङ्गका आकार, रङ र स्वरूपहरू फरक हुन्छन् । शास्त्रीय मान्यताअनुसार कालीगढहरूले अनेकौँ स्वरूपका जलहरी र लिङ्ग मिलाएर शिवलिङ्गहरू निर्माण गर्दछन् । जलहरीभन्दा तल, जलहरीमा र जलहरीमाथि तीनखण्ड हुने गरी लिङ्गको बीच भागमा जलहरी राखिन्छ ।

शिवलिङ्गको फेदमा ब्रम्हा, मध्यभाग (जलहरी) मा विष्णु र माथिल्लोभागमा ॐकाररूपी शिवको निवास हुन्छ । शिवलिङ्गको उचाईलाई तीन बराबर भागमा विभाजन गरिएको हुन्छन् । प्राकृतिक वा प्रचीनकालदेखि पूजिदै आएका शिवलिङ्गमा जलहरी देखिँदैन । कतिपय प्राकृतिक शिवलिङ्ग जमिनमाथि र कतिपय जमिनमुनिसम्म गडेका हुन्छन् । उदाहरणका लागि कोटेश्वरको महादेवस्थानमा रहेको शिवलिङ्ग जमिनमुनि पनि गडेको छ ।

शिवलिङ्गबाट सबै देवताको उपत्ति भएको हो, कुनै पनि देवताबाट लिङ्गको उत्पत्ति भएको होइन । यसकारण देवीदेवताहरूले शिवलिङ्गको पूजा गरेका हुन् । ईश्वरको मूर्ति हुनाले यसको पूजा गर्दा सबै देवीदेवता पूजित हुन्छन् । त्रेतायुगमा भगवान् रामले रावणसँग युद्ध गर्न लंका प्रवेशअघि शिवलिड्डको पूजन गरेका थिए । रामले स्थापना गरी पूजेकाले यसलाई रामेश्वर शिवलिड्ड भनिन्छ ।

ब्रम्हा, विष्णु, रुद्र, इन्द्रादि लोकपाल, मुनिगण आदिले शिवलिङ्कको पूजा गरेका छन् । महाभारतको अनुशासनपर्व तथा सौप्तिकपर्वमा शिव र शिबलिङ्गको उपासना बारेमा व्यापक चर्चा छ । रामायणकालदेखि महाभारतकालसम्म शिवलिड्डको साधना र अनुष्ठान कार्य अझ लोकप्रिय भएको देखिन्छ । भारतमा गणराज्यकालमा यौधेयको स्थान प्रमुख थियो । यौधेयको सिक्कामा नदीसहित शिवको प्रतीमा पाइन्छ । हरेक कामको प्रारम्भमा परमात्मालाई सम्झने आर्यावर्तको परम्परा भएकाले पैसामा परमात्माको तस्वीर राख्नु स्वाभाविकै हो ।

मानिसको शरीरमा बहत्तर हजार नाडी हुन्छन्, तीमध्ये १४ वटा मुख्य छन् । हामी १४ लोकमाथि विश्वास गर्छौ, जसलाई बनाउने, चलाउने ईश्वर नै शिव हुन् । यसले शिबलिङ्गको बोध गराउँछ । हातका पाँच औँलामा (चारवटा औँलामा तीन खण्ड छन्, बुढीऔँलामा दुई खण्ड छन्) चौध खण्ड छन्, प्रत्येक खण्डले एउटा लोकको प्रतिनिधित्व गर्दछ । पाँच औँलालाई जोड्दा शिबलिङ्ग बन्दछ, हत्केलाले जलहरीको आकार लिन्छ ।

ब्रम्हाण्डका चौध लोकहरूलाई एकमाथि अर्को खप्ट्याउँदै जाँदा बन्ने आकार शिबलिङ्ग हो, पृथ्वीलाई जलहरीको रूपमा लिइन्छ, जहाँ ब्रम्हाण सम्पूर्ण देवीदेवताको निवास रहन्छ । मेरुदण्डमा ३२ खण्ड अर्थात् ३३ वटा हाड छन् । हामी ३३ कोटी देवताको उपासक हुनपर्ने कारण शरीरले नै बताउँछ । मेरुदण्डले प्राणीलाई उभिन सहयोग मात्र गर्दैन योग र तन्त्रको प्रभावलाई ग्रहण गर्छ । शिवलिङ्ग सबै देवीदेवताको आश्रयस्थल, जगत्को उत्पत्ति र विनाशको मुख्यकारण भएकाले यसलाई नमस्कार गरे सबै प्रकारका पापबाट मुक्ति मिल्छ ।

मन्त्र र श्लोकका व्याख्या व्यक्तिअनुसार फरक पर्नाले केही अवसरवादीहरूले द्रव्यमोह एवं अज्ञानवश शिवलिङ्गको गलत अर्थ र प्रचार गरेका छन् । यही मौका पारेर विधर्मीहरूले परमात्माको मूर्तिलाई महादेवको अङ्क बनाइदिए । जसरी ज्वारभाटाको उत्पत्तिस्थल, निवासस्थल एवं विलयस्थल पानी हो त्यसरी नै चराचर जगत्को उत्पत्ति, विकास र विनाशको आधार शिवलिङ्ग हो ।

यही कारण परमात्माको स्वरूपलाई शिवलिङ्ग मानिन्छ । केही विदेशी विद्वान्हरूले शिवलिङ्गको बारेमा अतिभक्ति गाएका छन्, कतिले विना आधार खण्डन गरी सतहमा बसेर भविष्यवाणी गरेका छन् । जुन विषय न शास्त्रसँग मेल खान्छ, न त व्यावहारिक पक्षसँग नजिकको सम्बन्ध राख्छ ।

शिव भन्नाले पार्वतीका पति, गणेशका बुबा, हिमालयपर्वतमा बस्ने जटाधारी, नन्दीमा चढ्ने जोगी होइनन् । लिङ्गले चिन्ह एवं शिवले परमात्मालाई बुझाउँछ, यसरी शिवलिङ्गले परमात्माको स्वरूप वा आकारको बोध गराउँछ, न कि महादेव र पार्वतीको अङ्ग ।