१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

अविरल वर्षाका कारण अरनिको राजमार्ग र ताँथली नाला सडक बन्द

अविरल वर्षाका कारण अरनिको राजमार्ग र ताँथली नाला सडक बन्द
अ अ+ अ-

भक्तपुर । रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुईवटै सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्यविनायकसम्म सयौँ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् ।
    
भक्तपुरबाट काभ्रेपलाञ्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुलबजार डुबानमा पर्दा पुलबजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 
    
बिहानैदेखि काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिँदै उहाँले पुलबजार खुलेर सहजरुपमा यातायातका साधन जान सक्ने अवस्था नभएसम्म समस्या हुने बताउनुभयो । उहाँले सडक नखुलेसम्म काभ्रे जाने यातायातका साधनलाई यो सडक भएर नआउनसमेत आग्रह गर्नुभयो । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ ।
    
काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हँुदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा यो सडक भएर जाने सवारीसाधन ताँथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् । 
    
राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भञ्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भञ्ज्याङमा रोकिएका छन् ।
    
प्रहरी नायब उपरीक्षक थापाले ताँथली नाला सडकको पहिरो प्रहरीले हटाएर एकतर्फी सवारीसाधन चलाउन शुरु गरेको बताउनुभयो । अरनिको राजमार्ग अवरुद्ध हुँदा यही मार्ग भएर गएका र बनेपाबाट आएका सयौँ सवारी साधन दुईतर्फ नै रोकिएका छन् । प्रहरीले एकतर्फी सडक सञ्चालन गराइए पनि सवारीसाधन भने लामो जाममा रहेका छन् । थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् । 
    
यसैबीच वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा पानीको बहाब उच्चरुपमा बढेको छ । मनोहरा खोलामा पानीको बहाब बढेपछि खोला आसपासका केही क्षेत्र डुबानमा परेका छन् । लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । हनुमन्ते किनाराका बासिन्दालाई पनि खोलाको बहाव बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

बनेपा पुलबजार डुबानमा 

बनेपा– आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहानदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपाखण्डमा यातायात साधन चल्न सकेका छैनन् । बाढीले बनेपाको पुलबजार क्षेत्र पूरै डुबानमा परेपछि सो क्षेत्रमा यातायातको साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार भारी वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेका कारण बिहान २ बजेदेखि सवारीसाधन चल्न सकेको छैन । उहाँले भन्नुभयो, “राति २ बजेतिर खोलामा पानीको बहाव बढेपछि बनेपा पुल बजारमा फसेका दुई तीन वटा सवारी साधन निकालेपछि अरु साधन आवतजावत गर्न सकिरहेका छैनन् ।” पुलबजार क्षेत्र पूरै डुबानमा परेका कारण त्यहाँका घर, पसल तथा मोटर ग्यारेजलगायत डुबानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढेसँगै पुलबजार क्षेत्र जलमग्न भएको छ ।

सोही खोलामा आएको बाढीका कारण बनेपा–पनौती सडकखण्डको बनेपा गोदामचोकदेखि धनेश्वर जोड्ने पुलसमेत डुबानमा परेको कारण सो सडकखण्डसमेत ठप्प रहेको प्रहरीले जनाएको छ । नगरपालिकाले पुण्यमाता करिडोरलाई व्यवस्थित गर्न ध्यान नदिँदा अविरल वर्षा हुँदा पुलबजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।

अरनिको राजमार्गको बनेपा क्षेत्र ठप्प भएपछि बनेपा–नाला–भक्तपुर भएर चल्ने सडकखण्डबाट सामान्यरुपमा सवारी साधन सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ ।