२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडित भन्छन्– ‘पाल टाँग्ने जमिन छैन’



सांकेतिक तस्बिर
अ+ अ-

दार्चुला । दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् ।

गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ । गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन् । यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन् ।

“पहिराले घर भासिने क्रम अझै रोकिएको छैन । घर धुजाधुजा बनेका छन् । खेत पूरै दरार भएका छन् । साउन १४ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु”, पुरनले भन्नुभयो, “त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुपर्यो नि ?” 

“बाढीपहिरो आएको भोलिपल्टसम्म जमिन भासिएको थिएन, घर सुरक्षित नै थिए, तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ । यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन । हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ”, उहाँले सुनाउनुभयो ।

उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ । सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो । राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताउनुभयो । उहाँका अनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो । बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो । उहाँले भन्नुभयो, “अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ । तर कति दिन विद्यालयमा बस्नु । विद्यालय खोल्ने तयारी हुँदैछ । हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनुपर्छ ।”

बाढीपहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशीलगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन् । “हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ”, पुरन साहुले भन्नुभयो, “जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन । हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस् ।”

प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन् । उहाँले बाढीपहिराको स्थलगत निरीक्षणपछि भन्नुभयो, “खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन् ।” उहाँका अनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ । बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन् । 

“मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ”, प्रजिअ जोशी भन्नुहुन्छ, “यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ । यसको लागि सङ्घ र प्रदेशले भूमिका खेल्नुपर्छ । पहिरो हेर्नै नसकिने अवस्थाको छ । हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ ।”