२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा श्रीलंका : राष्ट्रपति भागे, प्रधानमन्त्रीले पद त्यागे



अ+ अ-

कोलम्बो । दक्षिण एसियाको एक सुन्दर देश श्रीलंका अहिले ठूलो राजनीतिक संकटमा फसेको छ । आर्थिक संकट र राजनीतिक अस्थिरतामा फसेको श्रीलंकामा हिजो देखिएको अकस्मातको विद्रोहले देशलाई अन्ततः अकल्पनीय समस्यामा पारिदिएको छ । अवस्था यस्तो देखियो कि शनिबार यहाँका नागरिकले मुलुकको कार्यकारी प्रमुखलाई नै उसको कार्यालय कब्जा गरेर भगाउने अवस्थामा पुर्याए । हिजो यहाँका राष्टपति गोटबाया राजपाक्षेको निवासलाई घेरामा हालेर उनी भाग्नुपर्ने अवस्था ल्याएको दृश्यले देश कुन हरहालतमा पुगेको रहेछ भन्ने स्पष्ट हुन्छ ।

उता यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेको पौडी पोखरी कब्जामा लिएर विद्रोही सर्वसधारणले पौडी खेलेका दृश्यहरुले यो देशमा अब के हुन्छ भन्ने प्रश्न मात्र जन्माइदिएको छ । त्यस घटनापछि शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री विक्रमासिंघेले आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्छ भनेर आफूले पदत्याग गरेको बताएका छन् । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक संकट उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट जनताको विरोधका कारण यसअघि तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्ष पनि राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले ‘संसद्लाई श्रीलंका टाट पल्टिँदै गरेको’ बताएका छन् ।

राष्ट्रपति निवास छोडेर भागे

उता श्रीलंकाली राष्ट्रपति गोटबाया राजापाक्षेको राजीनामा माग गर्दै देशमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पसेपछि राष्ट्रपति राजापाक्षे भागेका छन् ।

हजारौं आक्रोशित प्रदर्शनकारी प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष निवासबाट बाहिरिएका हुन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेली मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।

यसअघि, आन्दोलनकारीले विरोध प्रदर्शन तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले  कर्फ्यू  नै जारी गरेको थियो । स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म आदेश कायमै रहने प्रशासनले जनाएको छ । यसरी दक्षिण एसियाको यो देश नराम्ररी राजनीतिक संकटमा फसेको छ ।