• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना

भाँचिएको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ



भोजपुर । निर्माणका क्रममा भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिला हुँदा स्थानीय ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । दक्षिणी क्षेत्रबाट रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने सो खोलामा पुल निर्माणका क्रममा भाँचिएको थियो । पुल करिब आठ महिनाअघि भाँचिएको भए पनि यसको हालसम्म पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो ।

पुल भाँचिएको विषयमा गत मङ्सिरमा भएको सर्वपक्षीय छलफलमा पुनःनिर्माणको काम यस वर्षको वर्षात्अघि नै सक्ने बताइएको थियो । खोलाबाट भाँचिएको पुल हटाउनबाहेक निर्माणसक्ने भनिएको समयसम्म अरु कुनै पनि काम अघि बढ्न नसकेपछि स्थानीयले आवाज उठाएका हुन् ।

निर्माणमा ढिलाइ भएको विषयमा प्रश्न गर्दा प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी फागुन चैत महिनासम्ममा पुनःनिर्माण गरेर सरकारलाई जिम्मा लगाउने जानकारी दिनुभयो ।

सकेसम्म चाँडो नै निर्माण गर्ने योजना रहे पनि काम गर्दै जाने क्रममा केही ढिला भएको उहाँको भनाइ छ । यो खालको पुल नेपालमा परीक्षणका रुपमा बनिरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

निर्माणकै क्रममा पुल भाँचिएका विषयमा अहिले पनि अनुसन्धान भइरहेको संयोजक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणका क्रममा भाँचिएको यो दुःखद् हो । भाँचिएपछि हामीले यसको पुनःनिर्माणमा लागेका छौँ । काम गर्दै जाने क्रममा केही ढिला भयो । वर्षात् सुरु भएकाले तत्काल काम सुरु गर्ने अवस्था छैन । यो पुललाई आगामी फागुन, चैत महिनासम्ममा निर्माण सम्पन्न गरेर सरकारलाई जिम्मा लगाउने हाम्रो लक्ष्य छ ।”

पुल बन्ने आशामा बसेका स्थानीय निर्माणका क्रममा नै भाँचिएपछि दुखित बनेका छन् । भाँचिएपछि पनि तत्काल नै पुनःनिर्माण हुने आशामा बसेका उनीहरु पुलको पुनःनिर्माणको काम सुरु नहुँदा आक्रोसित बनेका छन् । उनीहरु अहिले खोलाको भेलमा ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

स्थानीय उमेश कुलुङले भन्नुभयो, “पुल निर्माण सुरु हुँदा हामी निकै उत्साहित थियौँ । बन्दै गर्दा पुल भाँचियो । भाँचिएपछि तत्काल बन्ला बन्ने आशा थियो । तर पुनःनिर्माणको काम अहिलेसम्म सुरु भएको छैन । हामी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ । खोला तर्ने क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मा कसले लिन्छ रु”

पैदलयात्रुसँगै सवारीसाधनलाई पार गर्न निकै कठिन रहेको कुलुङको भनाइ छ । मोटरसाइकललाई खोला तार्नका लागि तीन÷चार जनासम्म युवा चाहिने उहाँको भनाइ छ । “वर्षात् सुरु भयो । खोलामा भेल बढेको छ । पैदल यात्रुलाई तर्ने पीर छँदैछ । त्यस्तै सास्ती सवार चालकलाई छ । कतिपय खण्डमा बोकेर बाइक तार्नुपर्ने अवस्था छ । कतिबेला खोलाको भेलले बगाउछ पत्तो नै हुन्न । चडेर खोलाबाट तार्दा पानी पसेर बाइकमा समस्यासमेत हुने गरेको छ”, कुलुङले भन्नुभयो ।

पुल स्वीस सरकारको लगानीमा विसं २०७६ फागुन १२ मा शिलान्यास गरेर निर्माण थालिएको थियो । तर करिब ९० प्रतिशत काम सकिएर ढलान गरेपछि पुल बीचमा भाँचिएको हो । पुल भत्किएका विषयमा तत्कालन छानविन गरेर काम सुरु गर्ने सहमति भए पनि भाँचिएको पुल हटाउनबाहेका अहिले कुनै पनि काम अघि बढेको छैन । पुल गलत प्राविधिक डिजाइनका कारण भाँचिएको स्थानीयको आरोप छ ।

करिब रु पाँच करोडको लागतमा निर्माण भइरहेको पक्की पुल स्विस सरकारको सहयोगमा बनिरहेको थियो । भोजपुर–मानेभञ्ज्याङ–रानीबास–घोडेटार सडकखण्डमा बनिरहेको यो २०७७ असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने थियो । तर यो समयमा सम्पन्न नभएपछि पुनःम्याद थपिएको थियो ।

निर्माणका क्रममा पुल भत्किएपछि जिल्ला प्रशासन कार्यालयमा सोको विषयमा छलफल गरेर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भए पनि काम भने सुरु भएको छैन । भत्किएको आठ महिना हुँदा पनि निर्माणमा चासो नदिएको स्थानीय भनाइ छ । कामलाई चाँडो सुरु गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय नारायणप्रसाद निरौलाले भन्नुभयो, “काम गर्दै जाने क्रममा गल्ती हुनसक्छ । त्यसलाई हामी मान्छौँ । के कारणले भाँचियो भन्ने विषयमा खोजी त गर्नुपर्ला तर पुल भत्किएको यतिका समयसम्म निर्माणको कुनै काम सुरु नहुँदा हामी दुखित छौँ । वर्षौंदेखि हामीलाई यो खोला तर्न समस्या छ । यो पुललाई तत्काल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने हाम्रो माग छ । यो खोलाका कारण हामीलाई सदरमुकामसम्म जान अति नै समस्या छ । सरोकारवाला पक्ष गम्भीर भएर तत्काल पुनःनिर्माणका लागि पहल गर्न आवश्य छ ।”

पुललाई चाँडो निर्माण गराउनका लागि कुरा भइरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले पुल पुनःनिर्माणलाई चाँडो गर्न भनिरहेका छौँ । उनीहरुले पनि चाँडो थालनी गर्ने बचन दिँदै आएका छन् । पुल नहँुदा दक्षिणी भेगका स्थानीयलाई धेरै नै सास्ती छ । यसलाई चाँडो निर्माण सम्पन्न गराउनेमा मेरो पहल रहन्छ ।”

निर्माण सुरु हुनुपूर्व ८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको इञ्जिनीयरले बताएका थिए । पुल ४५ मिटर लामो, छ मिटर चौडाइको बन्ने बताइएको थियो ।

पुलमा दुवैतर्फ एक दशमलव २० मिटर पैदल यात्रु हिँड्ने स्पेस पनि बनाइएको छ । केबल ट्रस, खुला फाउन्डेसनको एक मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो ।

दक्षिणबाट कावा खोला पुल हुँदै जोडिने चुहार–घोडेटार–भोजपुर बजार–दिङ्ला सडकखण्डको करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किमी सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

जिल्लालाई उत्तर–दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्र गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको हो ।

भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ । चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ । भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किमीको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ । दिङ्लाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्नेछ ।