• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एकै परिवारका ६ जनाको हत्या प्रकरणः आरोपीलाई आजीवन कारावासको फैसला



काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेकालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए । ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो । हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ ।

संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दैकारावासको फैसला सुनाएको स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । योसँगै अदालतले मृतक परिवारको राहत कोषमा ४ जनाले दुई–दुई लाख रुपैयाँ क्षतिपुर्ती रकमसमेत जम्मा गर्न फैसला गरेको छ ।

हत्या अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नातेदार हुन् ।

२०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।