• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै

उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी



फाईल फोटो

चितवन । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो ।

समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन् । सङ्ख्या थपिँदै जाँदा हुर्किएका बच्चाले ठाउँ पाउँन नसक्दा बस्ती पस्ने, बुढो भएर आहाराको खोजीमा बाहिर निस्कने र मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिनुपर्ने हुन्छ । ती बाघ राख्न व्यवस्थित ठाउँ आवश्यक पर्दछ ।

बाघको बच्चा दुई वर्ष ६ महिना कटेपछि माउ छाडेर नयाँ ठाउँको खोजीमा हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले देवनगरको बरण्डाभार वन क्षेत्रमा निर्माणाधीन उद्धार केन्द्रमा बाघ राख्ने गरी काम अघि बढाइएको बताउनुभयो । समस्यामा परेका बाघलाई देशभित्र र बाहिर रहेका चिडियाखाना वा खोरमा राख्नुको विकल्प छैन । सो वन क्षेत्रमा पक्की पर्खाल लगाइसकिएको छ । हाल त्यहाँ चिकित्सकसहित बस्नका लागि घर र पोष्ट निर्माणाधीन रहेको छ ।

बाघ, गैँडा, चितुवा जस्ता जनावर राख्न पर्खाल लगाइएको वन क्षेत्रमा ठूला खोर बनाउने तयारी गरिएको हो । सो क्षेत्रमा दश वटासम्म बाघ राख्न सकिने उहाँ बताउनुहुन्छ । दीर्घकालीन समाधान हुने गरी काम अघि बढाउन लागिएको हो । समस्यामा परेका वन्यजन्तु राख्न यस अघिनै सो ठाउँमा काम भइरहेको छ ।

आचार्यले भन्नुभयो, “व्यवस्थित गर्दै जाँदा दस्तुर लिएर सर्वसाधारणलाई प्रवेश दिन सकिन्छ ।” जसको आम्दानीले केन्द्र सञ्चालन गर्न सकिने उहाँको तर्क छ । हाल कसरामा दुईवटा र सौराहामा एउटा खोरमा बाघ रहेका छन् ।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर बेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेकोमा त्यसलाई केही दिन अघि निकुञ्जको भित्री भागमा लगेर छाडिएको छ ।

भरतपुरको राधाकृष्ण सामुदायिक वनमा नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । यो बाघले १० दिनमा दुई जना मानिसलाई आक्रमण गरेको थियो । चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो ।

दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । साउनयता चार बाघ नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटा छोडेर अनुगमन गरिँदै आएको छ ।

बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ थियो । यसवर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

बाघको सङ्ख्या बढेको अनुमानसँगै निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउन प्रस्ताव गरिएको छ । बाघ र तीनका आहारा प्रजातिलाई बासस्थानको व्यवस्था गर्न निकुञ्ज जुटेको छ । ठाउँ विस्तार गर्न नसकिने भएकाले भएको क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको तिवारी बताउनुहुन्छ ।रासस