काठमाडौं । सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई वार्तामा आउन आह्वान गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत् आग्रह गर्नु भएको हो । सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आईतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ । काँग्रेस नेता समेत रहनु भएका गृहमन्त्री खाँणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गर्नु भयो ।
उहाँले आईतबार संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सोमबार (भोली) दिउँसो प्रमुख दलका शिर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाउनु भएको जानकारी दिनु भयो । गृहमन्त्री खाँणले भोली बस्ने सो बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षा समेत गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘म आग्रह गर्नु चाहन्छु– भएका मतभेदहरुलाई सुल्झाएर जाऊ । संवाद, छलफल र वार्ताको माध्यामबाट हामीले ठूल्ठूला समस्याहरुलाई सम्बोधन गरेका छौं । र अहिले संसदमा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो । आज पनि सभामुखले बोलाउनु भयो र हाम्रो कानुन मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमती जुट्न सकेको छैन । भोली पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र विश्वास गरौं–भोली समस्या समाधान हुन्छ ।’
सभामुख अग्नी सापकोटाले आईतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सूचारु गराउन आग्रह गर्नु भएको थियो ।











