• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा



चितवन । सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ ।

सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा सञ्चालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा संलग्न कृषकसँग लक्षित छ । सहकारी बजार प्रणालीमार्फत आम्दानीमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन कार्यक्रम केन्द्रित रहेको छ ।

परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार चितवन, धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर र नुवाकोटमा यो कार्यक्रम लागू भएको छ । छ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत सहकारी संस्थालाई ५२ तरकारी बोक्ने गाडी, ४५ चिस्यान केन्द्र र ५५ सङ्कलन केन्द्रमा सहयोग पुर्याइएको छ । ती संस्थालाई क्षमता अभिवृद्धि, फलफूल तथा तरकारीको सहकारी बजार प्रणाली स्थापना र संस्थागत क्षमता विकासमा सहयोग गरिएको ढकालले बताउनुभयो ।

परियोजनाको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसबाट १४ हजार ४०० जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाले जानकारी दिएको छ । कार्यक्रमअन्तर्गत लजिष्टिक, कृषिजन्य प्रविधि तथा बजारीकरणका सामग्री सहकारीहरूलाई प्रदान गरिएको छ । क्षमता अभिवृद्धिका लागि सहकारी व्यवस्थापन, व्यवसाय योजना, लेखा व्यवस्थापन र मूल्य शृङ्खला विकाससम्बन्धी विषयमा तालिम दिइएको छ ।

बीसवटा सहकारी संस्था तथा सहकारी बजारका लागि व्यावसायिक योजना निर्माण गरिएको छ । यसै कार्यक्रमअन्तर्गत काठमाडौँको चावहिल, ललितपुरको महालक्ष्मीस्थानमा सेटेलाइट सहकारी बजार, नुवाकोट, काभ्रे र धादिङमा सहकारी बजार निर्माण गरिएको छ । चितवनको रत्ननगर र राप्ती नगरपालिकामा सहकारी बजार निर्माण गरिएको छ । चितवनकै भरतपुरमा क्षेत्रीयस्तरको सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि रु पाँच करोड ७३ लाख खर्च गरिँदै छ ।

ढकालका अनुसार धादिङको बेनीघाटमा पालिकास्तरीय सहकारी बजारमा सहयोग गरिएको छ । नुवाकोट र मकवानपुरमा घुम्ती सहकारी बजार सुरु गरिएको छ भने कृषि उत्पादन विविधिकरणमा सहयोग गरिएको छ । कार्यक्रममा परेका ७१ कृषि सहकारीलाई एउटालाई रु ३२ लाख हाराहारीको सहयोग गरिएको ढकालले बताउनुभयो ।

कार्यक्रमका जिल्ला संयोजक कृष्ण श्रेष्ठका अनुसार जिल्ला सहकारी सङ्घ परिसरमा निर्माणाधीन क्षेत्रीयस्तरको सहकारी बजार यस क्षेत्रको नमूनाका रुपमा रहने बताउनुभयो । यस कार्यक्रमअन्तर्गत यहाँका नगरपालिकाभित्रका सहकारीमार्फत कृषक लाभान्वित भएको उहाँको भनाइ छ । मार्कण्य केरा उत्पादक कृषि सहकारी रत्ननगरका अध्यक्ष हरिशचन्द्र अधिकारीले परियोजनाले बजारीकरणका लागि एउटा भ्यान, कुलिङ च्याम्बरलगायत सहयोग गरेको बताउनुभयो ।