२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाका ठकुरी बस्तीमा गौरा पर्व सुरु



अ+ अ-

हुम्ला । हुम्लाका ठकुरी बस्तीमा आजदेखि गौरा पर्व सुरु भएको छ । विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । सोहीअनुसार नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकाका वडामा बसोबास गर्दै आएका ठकुरीहरुले आजदेखि धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । 

बर्तालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका–७ डाँडाफयाँ निवासी मन्दिर सिंहले जानकारी दिनुभयो । घर आसपासका खेतमा गई सामूहिकरूपमा महिलाले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै बर्तालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महिलाले महेश्वर ९शिव० र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहले बताउनुभयो । 

लोग्ने मानिसले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने कार्यमा सहभागी हुने गर्छन् । गौरा पर्वमा विशेषगरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ । पूजा गर्दा अक्षताका रूपमा ‘बिरुडा’ ९गहुँ, मास, गहत, गुराँस र कलौ० पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताउनुभयो । 

बिरुडालाई आफन्त, छरछिमेक तथा इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको उहाँले बताउनुभयो । यसरी गौरा भित्र्याई पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ । 

त्यस्तै भक्तालु महिला आज ठकुरी बस्तीमा रहेका शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा ९भगवती० र महेश्वर ९शिव० को पूजा गर्न व्यस्त देखिन्छन् । अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिकारूपमा पाउन गरिएको उपबासको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ ।