गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालका कारण एमाले फुटेका बताएका छन् । बुधबार गुल्मीमा आयोजित एक कार्याक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई नेपालले ठूलो उपलब्धिसँग जोडेको बताएका हुन् ।
उनले भने, ‘सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु नै ठूलो उपलब्धि मान्नुभयो। ‘ १० बुँदे सहमति कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको उनले बताए ।
नेता विष्टले नेपालले पार्टी एकताभन्दा पनि विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन भएको जिकिर गरे। पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको उनको भनाई छ ।
पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमति माधव नेपालबाट धोका भएको उनले टिप्पणी गरे । उनले भने, ‘पार्टी एकता बाहेक बिकल्प छैन। द्वन्द्व-बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अन्त्यमा माधव नेपालले म मान्दिन भन्नु भयो।’