६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतीमा पौडेल पक्षको साझा उम्मेदवार को ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ।  

केही दिनयता आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले बताइरहेका छन्। भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४ औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका थिए।  

भदौ १८ बाट कांग्रेसको वडा अधिवेशन सुरु हुँदै थियो। कमसेकम वडा अधिवेशनअघि साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षको प्रयास थियो। यसका लागि पौडेल पक्षका नेताहरूले लगातार ३ दिनसम्म बैठक गरेका थिए।

साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए। तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन।

भदौ १७ को पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरूले संवाद नै गरेका छैनन्। पौडेल पक्षले गत सोमबार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो।

उक्त बैठकमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफलै भएन। डडेलधुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय उक्त बैठकले गरेको थियो। यो निर्णय गर्न पौडेल पक्षलाई सकस भएन। तर साझा उम्मेदवार टुंगो लगाउन भने सकस पर्ने देखिन्छ।  

उम्मेदवारी घोषणा गरेका शेखरले जतिसक्दो छिटो साझा उम्मेदवार घोषणा हुने बताए। ‘हामीले जतिसक्दो चाँडो साझा उम्मेदवार घोषणा गर्छौँ’, उनले भने, ‘संवाद नभएको भन्ने होइन, हामीबीच संवाद जारी छ।’  

डडेलधुरामा भएको वडा अधिवेशनले पनि यसलाई विषयान्तर गरेको उनले बताए। तर पौडेल पक्षकै नेता बलबहादुर केसीले भने भदौ १७ पछि साझा उम्मेदवार चयन गर्ने विषयमा संवाद नै नभएको बताए। ‘काठमाडौंमा हुँदा बैठकका लागि मैले समन्वय गरेको थिएँ, अहिले म काठमाडौंबाहिर छु’, उनले भने, ‘त्यसैले बैठक हुन सकेको छैन।’

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिन्छ। पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना रहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।