१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका विद्यालय अन्योलमा



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ ।

ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् ।

अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले असोज १ गतेबाट विद्यालय खोल्ने विषयमा ठोस निर्णय गर्न सकेका छैन । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय खोल्ने विषय अन्योलमा परेको हो ।

धेरै दिन विद्यालय बन्द गर्दा धेरै विद्यालय बन्द हुने अवस्थामा पुग्ने धारणा राख्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भन्नुभयो– ‘लामो समयसम्म विद्यालय बन्द गर्दा विद्यार्थीलाई पनि समस्या पर्ने देखिएको छ ।’ उहाँले स्थानीय तहको समन्वयमा अधिकांश जिल्लाका विद्यालय खुल्ने थालेको बताउँदै अब उपत्यकाका विद्यालय खोल्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

ललितपुर महानगर शिक्षा समितिले विद्यालय खोल्ने अधिकार विद्यालय प्रशासनलाई सुम्पिएपछि अधिकांश विद्यालयले अभिभावकको रायअनुसार आइतबारबाट विद्यालय खोल्दै छन् । ललितपुरस्थित रेडियन्ट रिडर्स स्कुलका प्राचार्य ढिके ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अधिकांश विद्यालयका ठूला कक्षाहरू आइतबारबाट सञ्चालन हुनेछन् ।’ उहाँका अनुसार दशैं बिदापछि विद्यालय पूर्णरूपमा खुल्नेछ । उहाँले अब यो वा त्यो जिल्ला नभनी देशैभरका विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।

काठमाडौं महानगरपालिका शिक्षा विभागको हिजो बिहीबार सम्पन्न बैठकले आज शुक्रबार महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने विषयमा मापदण्ड तयार गर्ने निर्णय गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

सो समितिले आज मापदण्ड तयार गरेपछि सोही मापदण्ड लागू गराएर दशैंअगावै विद्यालय खोल्ने तयारी भइरहेको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय खोल्ने विषयमा अलिखित निर्णय गरिसकेका छौं, मापदण्ड तयार गरेपछि थप निर्णय गर्नेछौं ।’

उहाँले काठमाडौंका विद्यालय खोल्ने विषयमा असोज ४ गते बस्ने बैठकले निर्णय गर्ने बताउनुभयो । कामपाले आफ्नै स्वास्थ्य मापदण्ड तयार गरी विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यालय सञ्चालन भएपछि कामपाले निरन्तर अनुगमन गर्नेछ ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण महर्जनले महानगरमा कम विद्यार्थी संख्या भएका विद्यालय खुलिसकेको बताउँदै केही दिनमै सबै विद्यालय सञ्चालन हुने दाबी गर्नुभयो । सरकारले चिडियाघरदेखि हल, रेस्टुरेन्ट, नाइट क्लब, मल, संग्रहालयलगायत सबै क्षेत्र खुला गरिसकेको अवस्थामा विद्यालय नखोल्ने निर्णय गर्नु उचित नभएको उहाँको भनाइ छ ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले दशैंअगावै विद्यालय खोल्ने गरी तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘पहिला ठूलो कक्षा सञ्चालन गर्नेछौं, लगत्तै अवस्था विश्लेषण गरी सबै विद्यालय सञ्चालन गर्नेछौँ ।’

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा तत्काल विद्यालय खोल्ने विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘२० दिनपछि दशैँ आउँछ, त्यसलगत्तै विद्यालय खोल्दा कुनै समस्या हुँदैन ।’ उहाँले बेलैमा सावधानी नअपनाई विद्यालय खोल्दा ठूलो क्षति हुन सक्ने चेतावनी दिनुभयो ।

प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले काठमाडौंका विद्यार्थी ललितपुर र ललितपुरका विद्यार्थी काठमाडौंमा पढ्न जाने भएकाले काठमाडौं र ललितपुरका विद्यालय एकैसाथ खोलेर पठनपाठन सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले नै सबै कक्षाका विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न लागेका होइनौं, शुरूमा ठूला र दशैंपछि सबै कक्षा सञ्चालन गर्ने गरी तयारी थालेका हौं ।’

पछिल्लो समय काठमाडौं, भक्तपुर र लतिपुरका केही ठूला बाहेक साना विद्यालय खुल्न थालिसकेका छन् । अभिभावकले समेत कक्षा सञ्चालन गर्नुपर्ने विषयमा दबाब दिन थालेपछि स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेको हो । समाचार नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।