२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिडौंलाको दाग



अ+ अ-

डाँडामाथि रातो घाम देखिइसकेको थियो । बाँसको झाङबाट झ्याउँकिरीको ऱ्याउँऱ्याउँ र खोला खोल्सातिरबाट आएको भ्यागुताको ट्यार ट्यारले गोधुली समय गुन्जायमान थियो । गाइवस्तु र गोठालाहरू घरतिर फर्कँदै थिए । टुँडाल, कौसी र गुँडमा फर्कने चराहरूको चिरबिरले वातावरण उत्सवमय थियो । अत्यन्त क्षणिक मनोरम यो गोधुली समयलाई मनैदेखि अनुभव गर्न बार्दलीमा बसेर चिया पिइराखेको थिएँ ।

सडक टोल सुनसान थियो । टोलका सबैमान्छेहरू लामो तीर्थ यात्रामा गएका थिए । ममात्रै घर रुँगेर बसेको थिएँ । म पहिल्यै गइसकेको भएर म नगएर आमा, श्रीमती र छोरा बुहारीलाई पठाएको थिएँ यसपालि । घरको सबै काम एक्लै गर्नुपर्दा एक किसिमले दिक्दार लागिरहेको थियो । दिनभर त खेत, करेसाबारी र गाईवस्तु हेरेर बित्थ्यो रातिचाहिँ साह्रै अत्यास लागेर आउँथ्यो । साँझ नपर्दै यसो अलिअलि पकाईतुल्याई कौसीमा आएर यसो बसेको थिएँ अलि पर हातमा एउटा झोला बोकेर कोही आएकोजस्तो लाग्यो ।

झमक्क साँझ परिसकेकाले टाढाबाट को हो भनेर ठम्याउन सकिनँ तर जब त्यो आकृति अलि नजिकिँदै आयो मलाई ऊ अरू कोही नभई सान्नानी थिई भनेर ठम्याउन गारो परेन । मेरो घरको आँगनमा आइसकेपछि मलाई देखेर मुस्कुराउँदै नमस्कार गर्दै भनी, “सन्चै हुनुन्छ सान्दाजु? ”

मेरो घरको आँगन हुँदै उसको घर गइन्थ्यो । यो समयमा उसको उपस्थितिले म खुसी थिएँ या दुःखी थिएँ त्यति ठम्याउन सकिनँ तर म नजाँनिदो भय या भावनाले उद्वेलित अवश्य थिएँ ।

आफूलाई सम्हाल्दै नमस्कार फर्काउँदै बोलेँ, “सन्चै छ सानी । तिम्रो के छ खबर? एक्लै आएकी?” उसले उज्यालो अनुहार लगाउँदै बोली, “हजुर एक्लै । बाआमाको साह्रै न्यास्रो लाग्यो अनि यसो एकदुई दिन भए पनि पुगेर आउँछु भनेर सान्दाजु । अनि खै त ठुलीआमाहरू?” ” मैले भन्ने लाको थिएँ, तिमीले सोधिहाल्यौ ।

यसपालि त यो टोलका मान्छे सप्पै तीर्थ गाका छन् नि तिमी व्यर्थ दुःख पायौ । काकीहरू बल्ल भोलि आइपुग्लान् सरासर आइपुगे भने पनि। अब आऊ माथि यतै बस । आज फर्किने समय पनि बितिसक्यो।” एकैछिन अघिको उसको उत्साह हराएर गयो । अनुहार मलिन बनाउँदै भनी, “बा आमा पनि कस्ता होलान् मलाई खबरै नगरी जानुभएछ । लौ ! दुख मात्रै पो भयो त! बल्ल बल्ल समय मिलाएर वहाँदेखि आएकी, कस्तो नमज्जा भयो ।”

मैले ढाडस दिँदै भनेँ, “भैगो दुःख नमान भरे दिनभरिमा आए भने ठिकै छ आइपुगेनन् भने बेलुकीपख म पुऱ्याउन जाम्ला के गर्छ्यौ त अब! थाकेर आकी हौली बस्तै गर म चिया पकाउँछु” भन्दै भान्साभित्र पस्नै के आँटेको थिए उसले मलाई हातले घचेट्दै बोली, “लौ अब केको तपाईँले चिया पकाउनु, तपाईँलाई कौन सा चिया पकाउन आउने हो र, पकाइहाले पनि के खानेजस्तो हुन्छ र फेरि ! भैगो म आफैँ पकाएर ल्याउँछु । म आएपछि त मै जान्छु नि कत्ति सारो पाहुनालाई झैँ गर्नुभयो त तपाईँले त!” ऊ हाँस्तै भित्र पसी म ऊ गएको हेर्दै एकछिन घोत्लिएँ।

हाम्रो जोडिएको घर। मेरा बा आमा र सान्नानीका बा आमाबिच एकाघरको भन्दा पनि नजिकको सम्बन्ध थियो । दुई परिवारबिच लुकेको कुरा केही हुन्थेन । हामी दुई घरका केटाकेटी भोक लाग्दा जुन भान्सामा छिरे पनि खानेकुरो टक्रिन्थ्यो । सान्नानीको नाम कौशिला थियो भन्ने कुरा उनलाई विद्यालयमा भर्ना गर्दामात्रै थाहा भएको हो म लगायत हाम्रा गाउँका सबैलाई । उसलाई घरमा बोलाउने नाम सान्नानी नै सबैलाई सजिलो लाग्थ्यो ।

ठुला मान्छेले सान्नानी भनेको सुन्दासुन्दै हामी सप्पै उसलाई सान्नानी नै भनेर बोलाउँथ्यौँ । बिहान उज्यालो भएदेखि रातिसम्म हामी एकछिन छुट्टिँदैनथ्यौँ आ- आफ्नो घरबाट खाजा ल्याएर एकै ठाउँ बसेर खान्थ्यौँ । कहिलेकाहीँ खेल्दाखेल्दै सान्नानी हाम्रो घरमै निदाउँथी राति अबेला आएर काकीले लैजानुहुन्थ्यो । उमेरले ऊ मभन्दा दुई वर्ष कान्छी थिई । पातली, ठूला र लाम्चा आँखा, सुलुत्त परेको नाक, गोरो चेहरा र लामो केश भएकी सान्नानी मलाई आमाले सुनाउने गाउँखाने कथाकी सुनकेशरी उही नै हो कि भन्ने लाग्थ्यो । धेरैजसो हामीले एउटै थालमा भात खान्थ्यौँ । गफ गर्दा गर्दै एउटै खाटमा निदाउँथ्यौँ ।

बेहुलीको बिहे खेल खेल्दा कति चोटि ऊ दुलही र म दुलाहा भएका थियौँ । विवाहको वास्तविक अर्थ त थाहा थिएन तर दुलाहा र दुलही भन्ने कुरा आउँदा हामी एक-अर्का हौँ भन्ने मनोविज्ञान पूरै विकसित भइसकेको थियो । थाहै नपाई हामी किशोरावस्थामा पुगेका थियौँ तर शारीरिक परिवर्तनले हाम्रो सम्बन्धमा केही फरक आएको थिएन । समय द्रूत गतिमा आफ्नो तालमा थियो तर हामी उसको गतिमा छुट्टिन्छौँ भन्ने के थाहा। एकदिन त्यस्तै भयो।

म बेलुका गृहकार्य गरेर बसिरहेको थिएँ ऊ स्याँस्याँ गर्दै आई र मेरो खाटमा बसेर बर्बर्ती आँसु खसाल्न थाली । म “के भयो सानी भन न” भनेर उसको दुवै कुममा समातेर झकझकाउन थालेँ उ त झन भक्कानिएर रुन थाली उसको रुवाइले म अस्तव्यस्त भएँ । ऊ यसरी रोइरहेकी थिई मानौँ कोसी र गण्डकी दुवै आँखाबाट बगिरहेका थिए । केही छिन म अत्तालिएँ र उसको चिउँडो उठाएर उसको अनुहार हेर्दै भनेँ, “सानी भन न नभनी कसरी बुझूँ म?” उसले आँखा खोलेर हेरी, अहो! उसका आँखा त पाकेका आलुबखडाजस्तै राताम्य भएका थिए जसबाट मलाई बुझ्न समय लागेन कि ऊ धेरैबेरदेखि रोइरहेकी थिई । मेरो धेरैबेरको जोडपछि हिँक्क हिँक्क गर्दै भनी, “मेरो बिहेको निधो भयो ।

बा आमाले जनै सुपारी बुझ्नुभयो । सान्दाजु म अहिल्यै बिहे गर्न चाहन्नँ । म पढ्न चाहन्छु । सान्दाजु सम्झाइदिनू न मेरा बा-आमालाई ।” उसको मुखबाट यति सुन्ने बित्तिकै मेरो शरीरमा एकैचोटि रगत जमेजस्तै भयो । म एकछिन केही बोल्न सकिनँ । म धर्मसङ्कटमा परेँ । मानौँ ऊ जीवनरक्षाका लागि मकहाँ आएकी छे र म केही गर्न सकिरहेको छैन । एकमनले भनिरहेथ्यो उसलाई अँगालेर सानी तिमी मेरी हौ अरू कसैले लैजान सक्तैन तर म १६ बर्षे किशोर कसरी हक जमाउन सक्थेँ र मेरी बालसखालाई । उसलाई मैले काकाकाकीलाई सम्झाउँछु भनेर आश्वासन दिँदै उसलाई सँगै लिएर सान्नानीको घर गएँ र काकाकाकीलाई सम्झाउने प्रयास गरेँ तर उहाँहरूले “हामीले वचन दिइसक्यौँ, जनै सुपारी बुझिसक्यौँ, फेरि त्यति राम्रो घर र केटो कहाँ गुमाउनु ।

सानी भाग्यमानी रैछे मुखियाको घरमा दुलही भएर भित्रिन पाउने ” ,भन्नुभयो । मैले जिद्दी गर्दै भनेँ “काका उसको उमेर नै भा’छैन उसलाई पढ्ने मौका दिनू न तर कसैले मेरो कुरा सुनेन मलाई चिच्याउँदै सबैका सामुन्ने भन्ने मन थियो सानी मेरी हो म लिन्छु उसको जिम्मा तर त्यति भन्ने आँट न उमेरले दिन्थ्यो न मेरो औकातले । कसरी भन्नु बा आमा र काकाकाकीका अगाडि उसलाई म कति माया गर्छु र ऊ मेरा लागि के थिई भनेर? मेरै आँखाअगाडि पराईले सिन्दुर हालेर अर्कैकी बनाउँदा म हेरिरहेँ मात्रै ।

मन त छाँद हालेर रुने थियो उसको डोली समातेर तर केटो मान्छे परेँ उसका सप्पै सङ्गीहरू रुँदा म बार्दलीमा बसेर लुकेर हेरिरहेँ मात्रै । बिहेको पर्सिपल्ट दुलही फर्काउन आउँदा आमाले “कति राम्री भएर आएकी हो सान्नानी । सिन्दुर सुहाको होला कम्ता राम्री देखिएकी छैन राता चुरा पोते र सिँगारमा ऊ ” ,भन्नुभो । उसको अनुहार हेर्न उत्कट इच्छा भए पनि अनुहारभन्दा पहिल्यै उसको सिउँदोमा टल्किएको रातो सिन्दुर मेरै मुटु चिरेर निक्लेको रगत र गलामा झुन्डिएको रातो पोतेले मलाई कसैले पासामा झुन्डाएको महसुस हुन्थ्यो र मेरो शरीरमा बाँकी रहेको ढुकढुकी ज्युँदै भुङ्रोमा हालेको माछाजस्तै फटफटाउन थाल्थ्यो त्यसैले ऊ माइत आउँदा म बिस्तारै उसलाई भेट्न छाडेँ ।

ऊ हरेकचोटि “सान्दाजु सन्चै हुनुन्छ?” भन्दै आउँथी र उसको मन राख्न हल्का बोलिदिन्थेँ । उसको मनमा के होला? मलाई सम्झँदी हो कि नसम्झँदी हो भनेर सोध्ने मन हुन्थ्यो तर सक्तिनथेँ ।

ऊ बिहे भएर गएपछि म एकान्तप्रिय भएको थिएँ । उमेर छिप्पिँदासम्म बिहे गर्न नमानेपछि आमाले पासो देखाएर तैँले बिहे नगरे मैले पासो लगाएर मर्छु भनेर बाध्य पारेपछि मनमनै सान्नानीसँग माफी माग्दै तीस वर्षको उमेरमा बिहे गरेको थिएँ ।

म विगतका सम्झनामा घोत्लिरहेको थिएँ सान्नानीले सान्दाजु ल चिया खाम भन्दै हातमा चिया थमाएपछि म फेरि वर्तमानमा फर्किएँ ।

बरन्डामा बसेर चिया पिउँदै घर व्यवहार, छरछिमेक स्कुले साथीसङ्गीका कुराकानी गर्दै वर्तमानबाट भागेर बाल्यकालका स्वर्णिम स्मृतिमा डुबुल्की मार्दै हरायौँ । साँझ छिप्पिएपछि खाना बनाउँछु भन्दै उसैले कोसेली ल्याएको तरकारी केलाएर भान्सातिर लागी । उसले पकाइतुल्याइ गरुन्जेल म अगेनाछेउ बसेर आगो ताप्दै उसले चुह्लोमा बसालेको तरकारी र भात चलाउँदै गरेँ । अगेनामा आगो भर्भराएको रमाइलो मान्दै अगुल्टो झोँस्तै रहेँ ।

आज त धेरै वर्षपछि सान्नानीको हातको खाना खान पाइने भयो भन्दै जिस्किएँ । बचपनका रमाइला गफ गरीगरी हाँस्तै भात खायौ । हामी फेरि एकचोटि ४० वर्ष अगाडिको बालापनमा फर्केका थियौँ। उसले हामी भाँडाकुटी खेलेको, पुतलीको बिहे खेल खेलेको सम्झाउँदै हँसाउँदै गरी ।  हामी भेटमा एक अर्कासँग औपचारिक कुराकानी गरे पनि उसको बिहे भएपछि यसरी एकान्तमा गफिएका थिएनौँ ।  हामी सानो छँदा गर्ने गरेका बदमासी र मूर्खतापूर्ण काम सम्झँदै खित्खितायौँ ।

ऊ बोलिरहँदा म चार दशकको समयको सँघार नाघेर मेरो उहीँ सान्नानीको हात समातेर खाली खुट्टा उसको पछिपछि दौडने फुच्चे केटो भएको थिएँ । ऊ घोप्टो परेर आगो फु फु गरुन्जेल उसलाई धित मरुन्जेल हेरिरहेँ । उसो त सान्नानीलाई यतिका वर्षसम्म यति उज्याली कहिल्यै देखेको थिईनँ या मैले उसलाई राम्रोसँग हेर्न सकिरहेको थिईनँ त्यो भेउ पाउन सकिनँ ।

बाह्र बजेसम्म गफ गरेर सुत्न लागे पनि मलाई ऊसँग गफ गरेर धित मरेकै थिएन तर पनि ऊ थाकेकी थिई भुलाउन मन लागेन । ऊ सुत्ने कोठा देखाइदिएँ । ढोका ढप्काउँदै उसले भनी सान्दाजु म सुते हैँ । आज ४० वर्षपछि तपाइँको घरमा सुत्दै छु । अनौठो लागिरहेछ । भित्तामा बाल्यकालको उसको र मेरो थोते अनुहारमा हाँसेको निर्दोष फोटो थियो हामी दुवैका आँखा एकैचोटि त्यस तस्बिरमा पुगे र सँगै एक-अर्काको मुखमा हेरेर मुस्कुरायौँ ।

जसका लागि म जिन्दगीभर तड्पिएँ ऊ आज मसँगै थिई तर कोसौँ टाढा । सोचिरहेँ बालापन कसरी हराएर जाँदो हो? किन मानसिक निकटताहरू शारीरिक कुराहरूले छोपिदिन्छन्? हामीमा लैङ्गिक चेत किन यति हावी हुन्छ कि जसको कारण मानवीय संवेदनाहरू गौढ बनिदिन्छन् । हामी आखिर बालसखा नै हौ फेरि किन त्यसैगरी अँगालो हालेर बस्न सक्तैनौँ? किन एउटै थालमा खान सक्तैनौँ? किन रातभर निद्रा नआउन्जेल एउटै कोठामा गफ गर्दै सुत्न सक्तैनौँ? मान्छेको मन मस्तिष्कबाट सञ्चालित हुन्छ कि मनबाट मस्तिष्क ? मैले उसलाई गर्ने प्रेममा कहिल्यै उसको शरीरको उपस्थिति भएन ।

मेरो अन्तःकरणमा उसको नाम उच्चारण नभएको कुनै क्षण भएन तर उसको शरीर भोग गर्न नपाएर म तड्पेको कहिल्यै महसुस भएन । अहिले पनि म यो कुरामा के विश्वस्त छु भने एउटै कोठामा या एउटै खाटमा सुते पनि हामीबिच कुनै शारीरिक सम्बन्ध नराखी उज्यालो बनाउन सक्छु तर पनि हामी नारी र पुरुष एउटा सामाजिक मान्यताले बाँधिन्छौ र सिमाना कोर्छौँ र त्यही सिमाना मिचिन्छ कि भन्ने डरले निषेधका अग्ला अग्ला खम्बाहरू गाड्छौँ र मनका दूरीहरू तन्क्याउँछौँ ।

भित्ताको फोटो पुलुक्क हेर्दै भारी मन लिएर म मेरो सुत्ने कोठातिर लागेँ । फिटिक्क निद्रा लागेन । शौचालय जाँदा सानी सुतेको कोठा हुँदै जानुपर्थ्यो । शौचालयबाट फर्कँदा सान्नानीको कोठाको ढोका अलिकति उघ्रेको रहेछ । कोठामा जिरो वाटको मलिन बत्ती बलिरहेको थियो । मङ्सिर महिनाको समय भएकाले हल्का जाडो पलाइसकेको थियो । सानीले अडेको सिरक आधा भुईँमा लत्रेको देखेर उसलाई जाडो भयो होला भन्ने कुराले मन निमोठ्यो ।

ऊ भित्तातिर फर्केर सुतेकी थिई र लामो बाटो हिँडेर आएकीले थाकेकी भएर होला मस्त निद्रामा थिई । उसले लगाएको लुगामाथि सरेको कारण उसका सेता पिँडौला प्रस्ट देखिरहेका थिए । मेरो दिमागमा बिजुली चम्केजस्तै एउटा विचार आयो । सुषुप्त रूपमा रहेको ज्वालामुखि एक्कासी सक्रिय भएर विस्फोट भए जस्तै मेरो अन्तरमनमी बर्सौँदेखि दबेर रहेको एउटा उत्कण्ठाले मलाई एक्कासि गाँज्यो । उसको पिँडौलाको दाग हेर्ने लालसाले घ्वाप्लक्क छोप्यो । म आफूलाई रोक्नै सकिनँ । बिरालाको चालमा बिस्तारै ढोका खोलेँ । नजिकै गएँ र उसको पिँडौलामा नियालेर हेरेँ । म थर्र कामिरहेको थिएँ र पनि आफूलाई रोक्न सकिरहेको थिईन, मनमा ज्वारभाटा चलिरहेको थियो भने दिमाग शून्य थियो । बिस्तारै उसको खाटको छेउमा बसेँ । दाहिने हातले सुस्तरी उसको दाग भएको ठाउँमा छुन खोजेँ सकिनँ ।

उसको लामो केश फैलिएर छिरलिएको थियो । कपालका केही केस्रा हातमा लिएर खेलाएँ । फेरि साहस गरेर उसको पिँडौलाको दाग माथि छोएँ । चिप्लो तर बिजुलीको तार गुजिल्टिए जस्तो मासुको डल्लो । त्यही दाग जसलाई मैले उसँग भएको मेरो चिनो सम्झिन्थे । जुन दाग उसको शरीरमा थियो तर मेरो मुटुमा लागेको कहिल्यै सन्चो नहुने घाउ थियो । जब उसको दाग छोएर हेरेँ एकछिन चार दशकअगाडिको दृश्यमा गएर मेरो मन अड्कियो जतिबेला म चार कक्षामा पढ्थेँ । एकदिन दलानमा घोप्टो परेर सान्नानी गृहकार्य गर्दै थिई । सान्नानी मसँग खेल्न नगएर गृहकार्य गरेर आफूलाई पर्खाइरहेको कुरामा मलाई रिस उठिरहेको थियो ।

उसलाई बिथोल्ने मनसायले मैले खल्तीबाट पाङ्रो (भोर्ले भन्ने एक लहरायुक्त जङ्गली बनस्पतिको दानो) झिकेँ र आँगनको ढुङ्गामा बेस्सरी घोटेर तातोले रन्काएर सान्नानीको पिडौँलामा डामिदिएँ । सान्नानी आथ्था भनेर चिच्याउँदै जुरुक्क उठी र पोलेको ठाउँमा बेस्सरी मिच्न थाली। कलिलो छालामा बेस्मारी रन्केको पाङ्रोले बिचरीको छाला नै पाङ्रोमै टाँसिएर आएछ । गहिरो गरी पोलेको कारण सानी खटाउन नसकी बेस्सरी रुन थाली । मैले कति फकाउने प्रयास गरेँ तर सकिनँ ।

सानी रुँदैरुँदै आमालाई पोल लगाई र आमा पनि असत्तीले छालै जाने गरी पोलेर मारेछ नि मेरो बाबालाई भन्दै घरेलु औषधिको लेप बनाएर लगाइदिनुभयो । यता आफूले गर्दा सानीको पिँडौलाको छाला नै उप्किने गरी पोलेकोमा मलाई निकै ग्लानि भइरहेको थियो । सधै त्यसैगरी पोल्दा अरू केटाहरू आथ्था भनेर तर्सिने र एकछिन हाँसो र रमाइलो हुन्थ्यो तर आज त्यसै गर्दा सानीलाई कसरी त्यति बेस्सरी पोल्न पुग्यो मलाई बुझ्न गारो भयो ।

गर्मीको समय र गहिरो पोलाई भएकाले होला सानो घाउ पाकेर हत्केला जत्रो भएको थियो । आमाहरू दिनभर मेलापात र खेतमा जानुहुन्थ्यो उसको रेखदेख सबै म आफैँ गर्थेँ । मेरो काम अब सान्नानीको घाउमा फु फु गरेर झिँगा धपाउएर बस्नु बन्यो जुन मेरा लागि गतिलो बहाना बनिरहेको थियो ऊसँग खेलेर दिनभर बस्न पाउने । सानी लगभग तीन हप्ता स्कुल गइन म पनि गइनँ । जब घाउ निको हुँदै गयो घाउमा नराम्रो टाटा बस्यो । सानीको सुडौल सेता कञ्चन गोडामा कालो धब्बा जूनमा दागजस्तो देखिन्थ्यो जसको भागिदार म थिएँ ।

सायद म तन्द्रामा त्यही समय र कालखण्डमा पुगेको थिएँ । दागमा बिस्तारै आफ्ना ओठहरूले स्पर्श गर्दै गएँ कतिखेर मेरा आँखाबाट आँसु वर्षे थाहै पाइन। मलाई यस्तो महसुस भइरहेथ्यो कि म मेरो आफ्नै घाइते मुटु सुम्सुमाइरहेछु । आँसुको तातो श्पर्सले उनी बिँउझिन् र हत्त न पत्त माथि सरेको आफ्नो लुगा तल तान्दै उद्वेलित भएर शङ्का, विस्मय र भय मिसिएको भावमा मलाई हेरिन् ।

उनमा अब एकछिन अगाडिको बालापन थिएन एक प्रौढ परिपक्व नारीको रूपमा एक पराई पुरुषलाई हेर्ने भावले मलाई हेरिरहेको म ठम्याएँ । म थरथर कामिरहेको थिएँ । उनले अलि पर सर्दै डर मिश्रित कम्पित स्वरमा सोधिन् “सान्दाजु किन नसुतेर यता आउनुभाको? के भयो? यहाँ के गर्नुभएको?” म नाजवाफ थिएँ । मैले उनले नदेख्ने गरेर आँसु पुछेँ ।

उनको पिँडौला दाग भएको ठाउँमा छोएर मुसारेर भनेँ, “सानी यो दाग मेरो प्रेमको निसानी हो । म कहिल्यै बिर्सन सक्तिनँ यो दाग । तिम्रो यो दागभन्दा गहिरो दाग मेरो मुटुमा छ, तिमीसँगको वियोगले बनाएको खत ।” यति भनेर मैले त्यो खतमाथि आफ्ना ओठहरूले चुम्न थालेँ । उनी हतास र असहज देखिइन् र गोडा तानेर खुम्च्याएर बसिन् भित्तातिर फर्केर रुन थालिन् । मैले उनको टाउकोमा मुसार्दै भने, “के भयो सानी ?मलाई माफ गर मबाट गल्ती भयो ।

म तिमी सुतेको बेला यसरी नआउनुपर्थ्यो ।” उनी सुँक्क सुँक्क रुँदारुदै भक्कानिएर फेरि मेरो छातीमा टाँसिन पुगिन् र गला अवरुद्ध पार्दै रुँदै भनिन्, “सान्दाजु यो खतले कुरूप बनायो भनेर तपाईँको ज्वाइँले बारम्बार मलाई `टाटे´ भनेर गाली गर्नुहुन्छ । छ्या कस्तो किच्कन्नीको जस्तो शरीर भन्दै मलाई बारम्बार नुनमा चुक थप्नुहुन्छ । आज त्यही दागलाई हजुरले यति प्रेम गर्नुहुन्छ भन्ने कुराले आँसु रोक्न सकिनँ । अरू केही हैन दाजु ।” उसका बलिन्द्र धारा आँसु पुछिदिँदै मेरो काँधमा उनको टाउको राखेर पिठ्युँमा थप्थपाएँ । मन थियो उसका कपाल निधार आँखा जताततै चुमूँ र मनको यो हुरीलाई निभ्न दिऊँ तर म अत्यन्त संयमित हुँदै खाटबाट भुईँमा झरेर बसेँ र उसका दाग मुसारिरहेँ र उनलाई हेर्दै स्मृतिको डोलामा झुल्दै सम्झेँ ।

यो त्यही चुल्ठो हो जसमा मैले प्याउली र बाह्रमासेको फूल नसिउरिदिएको दिनै हुन्थेन, यी तिनै मुलायम हातहरू हुन् जस्मा उन्युको पातको सेता बुटा छापिदिन्थे, यी तिनै गाला हुन् जस्मा खोपिल्टो पर्दा म भासिन्थेँ, उसको गालामा मैले चिमोटिदिएपछिको रक्ताम्य राताले म पुलकित हुन्थेँ । यो त्यही शरीर जसलाई कृष्णले राधालाई बोकेर हिँडेजस्तै काँधमा बोकेर मेरो आधा बाल्यकाल बित्यो । मेरा घर वरिपरिका रुख,पात, लता, कुलो, खोलो, ढुङ्गा, माटा सारालाई थाहा थियो कि हामी एकअर्काबाट छुट्न सक्तैनौँ ।

फेरि झस्कँदै उनलाई सोधेँ, “सानी तिमीले त्यो टाटे भनेर गाली खाँदा यो टाटो पारिदिने मान्छेलाई कति सराप्यौ होला है!” ऊ फेरि बलिन्द्र धारा आँसु खसाल्दै अनुरागपूर्ण नयनले मलाई हेर्दै भनी, “यही एउटो चिज त छ मसँग तपाईँको चिनो जसलाई म छुन सक्छु, तपाईँको साथ महसुस गर्न सक्छु । एउटा कुरा भनूँ? जुन म अहिलेसम्म भन्ने आँट कहिल्यै गर्न सकिनँ । मैले उनका हात आफ्नो हातमा लिँदै भने, भन न के हो त्यस्तो? तपाईँको एक वचन पाएको भए म बा आमालाई भन्थेँ कि म बिहे गर्दिनँ या साहस बटुलेर भन्थेँ होला म बिहे गरेँ भने सान्दाजुसँग मात्र गर्छु ।

तपाईँले एकमात्र इसारा दिएको भए म तपाईँका लागि जुनीभर नि कुर्न सक्थेँ किनकि हामी पुतलीको बिहे खेल खेल्दादेखि नै मेरो दुलाहा बस्ने मनमन्दिरमा तपाईँको मात्रै तस्बिर थियो । मलाई कहिल्यै लागेन कि दुलाहा भन्ने व्यक्ति तपाईँबाहेक अरू पनि कोही आउन सक्छ भन्ने तर तपाईँ नबोलेपछि म मेरो भाग्यसँग हारेँ र नियतिसँग सम्झौता गर्न बाध्य भएँ । भर्खर १४ वर्ष टेकेकी मैले कसरी मसँग बिहे गर्छौ भनेर सोधूँ? त्यसैले अचानामा टुक्राटुक्रा भएको मासुको चोक्टाझैँ जिन्दगीभर निर्जीव बाँचिरहेँ । म अण्डा चोरिएको कुखुरीजस्तो रित्तो रित्तो र एक्लो एक्लो भएँ । मेरो बिहेको कुरो छिनिएपछि नै तपाईँ मसँग बोल्न छाड्नुभयो ।

मलाई भने अनेक बहाना बनाएर तपाईँलाई भेट्ने र बोल्ने मन हुन्थ्यो तर तपाईँ तर्केर हिँड्नुहुन्थ्यो । डोली अन्माउने बेला मेरा सबै साथीहरू आए तपाईँलाई कतै देखिनँ । दुलही फर्काउन आउँदा सबै आए तपाईँ आउनु भएन । म तपाईँलाई भेट्न साँझमा तपाईँकोमा आएकी थिएँ तपाईँ चुकुल लगाएर बस्नुभएको थियो म भारी मन गराएर फर्केँ । किन बोल्नु भएन? त्यति चाडै मऱ्यो सानीको माया?” उसले यसो भन्दै गर्दा भक्कानिएर फेरि उसलाई छातीमा टाँसे र रोक्न नसकेर उसका आँसुले भिजेका परेलाहरूमा चुमिरहेँ चिउँडो उठाएर धित मर्ने गरी नजिकैबाट हेरेँ । उस्तै निर्दोषपन थियो उसका आँखामा अनि चेहरामा ।

मन भएथ्यो उसका निर्दोष ओठहरू चुमिदिऊँ तर संयमता जरुरी थियो । कुनै भयानक दुर्घटनाको गन्धले नमिठोसँग मुटु काँपिरहेथ्यो । हात गोडा कामिरहेका थिए, छाती बिस्फोट भएर मुटु उछिट्टिएर बाहिर निस्केलाजस्तो भइरहेथ्यो । उसका छिरलिएका र आँसुले भिजेका केशराशिहरू सम्हालिदिँदै गालाका आँसुहरू पुछिदिएँ ।

ऊ लिसो ‍जस्तै मेरो छातीमा चपक्कै टाँसिएकी थिई । सायद रुँदारुँदै शिथिल भएकी थिई । म उसको केश सुम्सुमाउँदै स्मृतिको झुलामा बयली खेल्दै कतिखेर निदाएछु पत्तै भएन । सपनामा खाली खुट्टा सान्नानीलाई पिठ्युँमा बोकेर कुदिरहेको रहेछु, ऊ मेरो पिठ्युँमा मस्त निदाइरहेकी थिई ।