८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बाँदरको समस्याले वैकल्पिक खेतीतर्फ पाल्पाका किसान

बाँदरको समस्याले वैकल्पिक खेतीतर्फ पाल्पाका किसान
फाईल फोटो
अ अ+ अ-

रामपुर । रम्भा गाउँपालिका–१ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरे पनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि उहाँले बाली लगाउनै छाड्नुभएको छ ।

अर्यालले छ वर्षयता मकैबाली लगाउन छाडेको बताउनुभयो । “दुःख गरेर मकै लगायो उत्पादन लिन पाइएलाभन्दा बाँदरले खाएर स्याहार्न नपाएपछि लगानी व्यर्थ मात्रै भयो”, उहाँले भन्नुभयो । मकैको विकल्पमा सूर्यमुखी खेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“मकै पसाउन थालेपछि खेतबारीमा बाँदरको समूह पसेर एकै पटकमा सखापै पार्ने, घरभित्र पनि लुकेर भण्डारण गरेर राखेको मकै खाने, एक्लै घरमा भएमा मानिसलाई नै झम्टने गर्दछ, बाँदर धपाउने समस्याले किसानले कतिपय स्थानमा जग्गा बाँझै राख्न बाध्य भएका छन्”, अर्यालले भन्नुभयो ।

तल र माथि जङ्गलबीचमा बस्ती र खेतीयोग्य जमिन हुँदा दुईतर्फबाट आएका बाँदर गाउँबस्तीमा पसेर क्षणभरमै खेतीबाली नोक्सानी गर्ने गरेको अर्यालको भनाइ छ । बाँदर नियन्त्रणका लागि विकल्पको व्यवस्था गर्न रम्भा गाउँपालिकाको कार्यालयमा अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ नभएको अर्यालले बताउनुभयो । मकैबाली छाडेर अहिले उहाँले करिब छ रोपनी जग्गामा सूर्यमुखी लगाउनुभएको छ ।

उहाँजस्तै गाउँका अन्य किसानले पनि सूर्यमुखी खेती सुरु गरेका छन् । बाँदरले मकै, तरकारी, फलफूल मात्रै होइन धानबालीमा पसी माडेर सताउने गरेपछि सगाहाको अम्मेट ठाउँमा करिब २० रोपनी जग्गा बाँझो अवस्थामा छ । बाँदरले नोक्सानी गर्न थालेपछि मेहनतअनुसारको उब्जनी लिन नपाउँदा दुई वर्षयता सो जमिन बाँझिन पुगेको हो । धानबाली पनि बाँदरले मासेर नोक्सान गर्न थालेपछि अहिले सो ठाउँमा किसानले खेती लगाउनै छाडेका छन् ।

खेती लगाउन सुरु गरेदेखि बाँदर खेतबारीमै लुकेर बस्ने र पसाउन थालेपछि बाली नसकिँदासम्म खेतबारी नै नछाड्ने गरेको सगाहकै अर्का कृषक मित्र सिं थापाले बताउनुभयो । उहाँ पनि बाँदर समस्याले हैरानीमा परेपछि जमिन नबाँझियोस् भनेर करिब तीन रोपनीमा सूर्यमुखी खेती गर्नुहुन्छ । थापाले यसभन्दाअघि १० रोपनी जग्गामा मकै खेती गर्दै आएको बताउनुहुँदै अहिले बाँदरको समस्याका कारण बाध्यताले सूर्यमुखी लगाउनु परेको बताउनुभयो । उहाँले मकैखेती गरेर राम्रो उत्पादन लिँदै आउनुभएको थियो ।

वन जङ्गलमा बाँदरका लागि आहारको अभाव हुनु र अर्कोतर्फ गाउँमा बस्ती पातलिँदै जादा बाँदरले मानवबस्तीमा नै पसेर सताउने गरेको बताइन्छ ।

अहिलेको समय खेतमा पसाउँदै गरेको मकैबाली जोगाउन किसानलाई सकस छ । किसानको दैनिकी बाँदर धपाउनमै बित्ने गरेको छ । एक÷दुईको सङ्ख्यामा हिँड्ने बाँदरले खासै नोक्सानी गर्दैन तर ठूलो समूहमा आएका बाँदरले खेतबारीमा पसेपछि बाली नै सखापै पार्ने गरेको छ ।

समूहमा हिँड्ने बाँदरले क्षणभरमै बालीनाली सखाप पारिदिने गरिेको किसान बताउँछन् । मकै, भटमास, आलु, बदाम, धान, कोदो, जौ, गहुँ, फापर, मूला, गाँजर, तरकारी, गोलभेँडा, फलफूल बाली सबै केही बाँकी नराखी खाएर नोक्सान पार्दछ । अहिले गाउँमा प्रत्येक घरमा एक÷दुई जना बाँदर धपाउनकै लागि कुरुवा बस्नु परेको छ । तर, ठूलो समूह बनाएर आएका बाँदलाई एक दुई जनाले धपाउँन सकिदैन । मानिसलाई नै झम्टने गरेको पनि पाइन्छ । बाँदर आतङ्कका कारण भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझै छाडेर गाउँ छाड्नुपर्ने अवस्था आएको छ ।

कहिल्यै बाँदर नलाग्ने ठाउँमा पनि हिजोआज बाँदर पस्न थालेको रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने उदयराज अर्यालले बताउनुभयो । मानिसको ओहोरदोहोर हुने, बस्ती बाक्लै भएको ठाउँमा पनि दुई तीन वर्षयता बाँदर पसेर सताउन थालेको अर्यालको भनाइ छ । “खेतमा मकै पसाउन थालेपछि बाँदरले हैरानी पारेको छ, धपाउँन खोज्दा पनि झट्ट नभाग्ने, मकैमा पसेपछि भर्खर फल लाग्दै गरेका घोगा भाँचेर खाइदिएको छ, बाँदर भगाउने उपाय नहुँदा किसानलाई सकस भएको छ”, उहाँले भन्नुभयो ।

बेझाडखेत रामपुरको मुख्य बजार बेझाड संग जोडिएको छ । यहाँ दैनिक साना ठूला गरी सयौँ सवारी साधन गुड्ने, मानिसको ओहोरदोहोर बाक्लै हुने गर्छ । तरपनि बस्ती भरिँदै जादा बाँदर पनि पस्ने गरेको अर्का स्थानीय लक्ष्मी तिवारी बताउनुहुन्छ । आलु, मकै, तरकारी लगायतका बाली पसाउन नपाउँदै खोतलेर खाइदिने गरेको उहाँले बताउनुभयो ।

“आफैँले दुःख गरेर गरेको खेती राम्रोसँग फलाउँला भनेको फल लाग्न थालेपछि बाँदरले खाइदिन्छ, खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनु दुःख मात्रै गर्नुप¥यो रु”, उहाँले गुनासो गर्नुभयो ।

उहाँका अनुसार प्रत्येक घरबाट एक÷एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ ।

रामपुर नपा–८ आँपचौरका रामप्रसाद अर्यालले ११ रोपनी जग्गामा विभिन्न खेती गर्नुहुन्छ । बालीनाली जोगाउनै समस्या परेपछि बाँदर आतङ्क रोक्न सरकारसमक्ष उहाँको अनुरोध छ । समूहमा बाँदर पसेर खेतबारीका अन्नबाली खाएर सखाप पार्ने हुँदा अनिवार्यजसो बाँदर कुरेरै यहाँका नागरिकको दिन बित्ने गरेको छ । बाँदर धपाउने कुनै विकल्प नहुँदा गुलेली तथा लौराले धपाउने गरेको अर्यालले बताउनुभयो ।

एक समूहमा बढीमा २०० सम्म बाँदर खेतबारीमा पस्ने गरेको पाइएको छ । आँपचौरकै ७४ वर्षीय पुरुषोत्तम अर्याल आफूले जानेदेखि नै खेतबारीमा दैनिक बाँदर कुर्ने गरेको बताउनुहुन्छ । बिहान उज्यालो हुन नपाउँदै बाँदर लखेट्न खेतमा जानुपर्ने र साँझ अबेरसम्म पनि निगरानीमै बस्नुपर्ने हुँदा परिवारमा एक जना बाँदर कुर्नैका लागि खटिनु परेको अर्यालको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “बाँदर कुरेरै जीवन बित्ने भयो, जाने बुझेदेखि नै खेतको मुहानमा बसेर बाँदर कुर्ने गरेको हो, अहिलेसम्म बाँदरकै निगरानीमा जीवन बित्यो, एक जनाले त अनिवार्य बिहान सबेरै उठेर रात नपरुञ्जेलसम्म खेतमा बसेर बाँदरको निगरानी गर्नुपर्छ नत्र लगाएको बाली भित्र्याउनै पाइदैन ।”

पाल्पाका विभिन्न स्थानका किसान बाँदर आतङ्कले हैरानीमा परेका छन् । बर्सेनि बाँदरको समस्या किसानले सम्बन्धित निकायमा पोखेकै छन् । कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर नगरको समन्वयमा बाँदरको समस्यालाई दृष्टिगत गर्दै बाँदर धपाउने यन्त्र कृषकलाई वितरण गरेर समाधानको प्रयास पनि ग¥यो । तर पूर्णरुपमा भने नियन्त्रणमा आउन सकेन । नगरले बाँदर लाग्ने स्थानमा कागती, सुन्तला, बेसारलगायतका बाली लगाउन प्रोत्साहन गरेपनि कतिपय ठाउँमा सिँचाइको अभावले समस्या देखिएको छ ।

पाल्पाका रामपुर, रम्भा, निस्दी, पूर्वखोला, बगनासकालीलगायतका विभिन्न ठाउँमा बाँदर आतङ्कले सताउने गरेको पाइन्छ । बाँदर आतङ्क रोक्न नसक्दा बर्सेनि अन्नबाली खाएर नोक्सानी व्यहोर्न किसान बाध्य बन्दै आएका छन् । रासस