• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

अभिनेत्रीमाथि ‘दुर्व्यवहार’को आरोपमा पक्राउ परेका बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै प्रदर्शन



काठमाडौँ । एक अभिनेत्रीलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै मंगलबार बिहान प्रदर्शन गरिएको छ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको भन्दै मुगु स्थायी घर भएका फुर्वा लामा नामक बौद्ध भिक्षुलाई प्रहरीले पक्राउ गरेको थियो ।

युवाहरुको एक समूहले मंगलबार बिहान चावहिलस्थित केएल टावरअगाडि फुर्वा लामाको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको हो । समूहले ‘कबड्डी ४’ को पोस्टरसमेत जलाइदिएको छ ।

अभिनेत्री मगरले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध बौद्ध भिक्षु लामाले ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि भिक्षु लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

लामाको पक्राउको विरोधमा कर्णालीबासी र लामा समुदायले मंगलबार अपराह्न २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखिएपनि स्थगित गरिएको बताइएको छ ।

‘कबड्डी ४’ का निर्माता र निर्देशकले मंगलबार बिहानै बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेका थिए । आफ्नो फिल्मविरुद्ध प्रदर्शन चर्किने संकेत पाएका निर्देशक रामबाबु गुरुङले तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल गरेका थिए । उनले मेलमिलापतिर आफू गएको बताएका छन् ।

‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्री मगरले सोमबार ती बौद्ध भिक्षुले आफूलाई तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।