• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

‘पुष्पा २’ का लागि निर्देशक सुकुमारले बढाए दोब्बर पारिश्रमिक



एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्डन्ना अभिनित फिल्म ‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर रह्यो ।

फिल्मले भारतमा मात्र नभई विश्वभर उत्कृष्ट कलेक्सन गरेको थियो । यस्तो अवस्थामा अब फ्यानहरु यो फिल्म ‘पुष्पाः द रुल’ को दोस्रो भागको प्रतिक्षामा छन् । पछिल्लो केही दिनमा ‘पुष्पाः द रुल’ को बारेमा धेरै ठूला अपडेटहरु बाहिर आएका छन् ।

यसै क्रममा अब फिल्मसँग सम्बन्धित नयाँ रिपोर्ट आएको छ, जसमा फिल्मका निर्देशक सुकुमारले ‘पुष्पा’को दोस्रो भागका लागि आफ्नो पारिश्रमिक बढाएको दाबी गरिएको छ ।

रिपोर्टका अनुसार सुकुमारले ‘पुष्पा’ को दोस्रो पार्टका लागि निर्माताहरुबाट मोटो पारिश्रमिक लिनेछन् । सुकुमारले करिब ४० करोड भारु माग गरेको रिपोर्टमा उल्लेख छ । निर्देशकले फिल्मको पहिलो भागका लागि १८ करोड भारु लिएका थिए । अर्थात् अब सुकुमारले ‘पुष्पा २’ को लागि आफ्नो पारिश्रमिक दोब्बर पारिसकेका छन् ।

हालै अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ को उत्कृष्ट कमाई गरेको अवस्थामा ‘पुष्पा’का निर्माताले फिल्मको दोस्रो भागको स्क्रिप्टमा केही परिवर्तन गर्ने दाबी गरेका छन् । जानकारीका अनुसार यो बीचमा, स्क्रिप्टमा सानो परिवर्तन गरिएको छ। यस बाहेक चर्चित संगीतकार देवी श्री प्रसादले पनि फिल्मका लागि तीनवटा गीत संगीत दिएका छन् ।

‘पुष्पा’को दोस्रो भाग निकै धमाकेदार हुने अनुमान गरिएको छ । त्यसैले निर्माण पक्षले फिल्मको बजेट पनि बढाएको छ । जानकारीका अनुसार ‘पुष्पा’को पहिलो पार्टको बजेट करिब २०० करोड थियो भने अहिले फिल्मको दोस्रो भाग बनाउन निर्माताले करिब ४०० करोड खर्च गर्ने भएका छन् । फिल्ममा साउथसँगै बलिउड स्टारहरु पनि प्रवेश गर्न सक्नेछन् । यस्तो अवस्थामा निर्माताहरु ‘पुष्पा २’ मार्फत फेरि बक्सअफिसमा धमाका गर्ने तयारीमा छन् ।