२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

नारायणगढ–बुटवल सडकः खाल्डाखुल्डीले सवारी गुडाउन सकस

नारायणगढ–बुटवल सडकः खाल्डाखुल्डीले सवारी गुडाउन सकस
अ अ+ अ-

चितवन । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् ।

जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ ।

सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ–बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउँछन् । “सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ”, लामिछानेले भने, “झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पु¥याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पुर्याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ ।”

नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेले बताए । “बिरामीलाई चाँडो अस्पताल पु¥याउनुपर्ने हुन्छ । तर बाटोको अवस्थाका कारण एम्बुलेन्स कुदाउन सक्ने स्थिति नै छैन”, लामिछानेले भने, “विस्तारै जाँदा अस्पताल ढिला पुगिने बाध्यता एउटा छ, अर्को बाटोमा भएका खाल्डाखुल्डीका कारण बिरामीको ज्यान शिथिल हुन्छ ।” यो सडकमा रहेको खाल्डाखुल्डीका कारण साह्रै समस्यामा हुने गरेको लामिछानेले बताए ।

सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गरे । “पहिला महिनाको बढीमा दुईपटक सवारी सर्भिसिङ गर्दा हुन्थ्यो”, चौधरीले भने, “अहिले दुईपटक काठमाडौँ पुगेर आउँदा गाडी सर्भिसिङ गराएन भने चलाउनै नसकिने हुन्छ ।” सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चौधरीको भनाइ छ ।

घाम लाग्दा धुलो, पानी पर्दा हिलो

सडकको दुरवस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती–१६ डण्डामा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका सन्तोष पोखरेलले बाटोमा उड्ने धुलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउँछन् । “पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ”, पोखरेलले भने, “मोबाइलका सामान लिन दैनिकरूपमा नारायणगढ जानुपर्ने मलाई बाटोको हिलो र धुलोका कारण झनै समस्या पर्ने गरेको छ ।”

बाटोमा भएको खाल्डाखुल्डी र घाम लाग्दा उड्ने धुलो तथा पानी पर्दा हुने हिलोका कारण मोटरसाइकल चलाउन पनि समस्या हुने गरेको उनी बताउँछन् । “नारायणगढ पुगेर सामान ल्याउन भनेर मोटरसाइकलमा जानसक्ने अवस्था नै छैन”, पोखरेलले भने, “डण्डाबाट नारायणगढ पुग्दा मान्छे पूरै धुलैधुलो भइन्छ, बाटोको अवस्थाका कारण यो सडकमा मोटरसाइकल चलाउन नपरे हुन्थ्योजस्तो लाग्छ ।”

नारायणगढ–बुटवल सडकको खण्ड–१ मा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर सडकमात्रै गाडी गुडाउन सकिने अवस्थाको छ । दाउन्नेको १४ किलोमिटर उकालो सडकमा पक्की सडक देख्नै मुस्किल छ । दुम्किबासबाट दाउन्नेसम्मको सडकको सबै कालोपत्र उप्किएर ग्रामीण क्षेत्रको कच्ची सडकजस्तै बनेको छ ।

दशैँमा सरर गाडी गुडाउन पाइने

नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड–१ मा रहेका सबै खाल्डाखुल्डी दशैँ अगाडि नै पुरेर सकिने बताए । “चिनियाँ कम्पनीका प्रमुख मान्छेले दशैँसम्म सबै खाल्डाखुल्डी पुरेर सकाउने प्रतिबद्धता जनाउनुभएको छ”, आचार्यले भने, “पुल निर्माणका लागि बनाइएका डाइभर्सनबाहेक सडकमा रहेका सबै खाल्डाखुल्डी पुरेर दशैँमा सरर गाडी गुडाउन पाइन्छ ।” निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरुले भनेअनुसार काम गरेको बताए ।

“केही समय अगाडि मात्रै नयाँ म्यानेजर आउनुभएको छ” आचार्यले भने, “आयोजनालाई ब्लेम नलाग्ने (अबजस नआउने) गरी तीव्ररूपमा काम गर्छु भनेर उहाँले हामीसँग प्रतिबद्धता जनाउनुभएको छ ।” मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने सूचना अधिकारी आचार्यको भनाइ छ । नारायणगढ–बुटवल सडकको खण्ड–१ मा काम सुरु भएको साढे दुई वर्षको अवधिमा करिब आठ प्रतिशत मात्रै काम सकिएको छ ।