२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको दावी : गठबन्धन सरकार महासंकटमा, निर्वाचनको विकल्प छैन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।

नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार  बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे । उनले सरकारका जनविरोधी र संविधान विरोधी कार्यप्रति खबरदारी गर्न सम्पादकहरूसँग आग्रह गरे ।

अध्यक्ष ओलीले सरकारले चलिरहेको संसद मध्यरातमा हठात् अन्त गरी षड्यन्त्रमूलक किसिमले अध्यादेश ल्याएर संविधान कुल्चने काम गरेको आरोप लगाए । सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्’ अध्यक्ष ओलीले भने ।

ओलीले हिजोको दिनमा अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्नेहरू आज आफैं अध्यादेश ल्याउने खेलमा लागेको स्मरण गर्दै विधि पद्धति र नैतिकताका कुरा देखाउने दाँत मात्रै रहेको स्पष्ट पारे । संसद् चालू रहेको अवस्थामा अध्यादेश फिर्ता लिएको सूचना जारी गर्नु पनि संविधानविरोधी कार्य भएको ओलीले दाबी गरे ।

एमाले अध्यक्ष ओलीले वर्तमान अपवित्र गठबन्धनको सरकारले विभिन्न वहानामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कमजोर बनाउने काम गरेको र त्यो आफुहरूका लागि सह्य नहुने चेतावनी दिए । ‘अहिले देशलाई बर्वाद पारिँदै छ, लोकतन्त्र धरापमा पर्ने खतरा बढेको छ, यसविरुद्ध एमालेले सशक्त प्रतिरोध गर्नेछ,’ अध्यक्ष ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आफुहरुको निर्णय रोकेर सर्वोच्च अदालतले गल्ती गरेको दोहोर्याए । अहिले संसद् चल्न सकेको छैन त्यसैले ताजा जनादेशबाट नयाँ संसद् नबन्दासम्म भद्रगोल अवस्थामा रहेको संसद् चल्न सक्दैन् ।’ अध्यक्ष ओलीले भने । ओलीले सत्यभन्दा माथि अदालत पनि नहुने भएकाले सर्वोच्चले गरेको असत्य फैसलालाई राम्रो भन्न नसकिने स्पष्ट पारे । ओलीले अदालतको पछिल्लो गतिविधिले जनतामा यसप्रतिको विश्वास र आशा घटेर गइरहेको बताए ।

एमसीसीबारे सम्पादकहरूले राखेको जिज्ञासामा अध्यक्ष ओलीले एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी केन्द्र भएकाले एमसीसी सम्बन्धी निर्णय गर्ने दायित्व पनि कांग्रेस र माओवादी केन्द्रकै रहेको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकार र अर्थमन्त्रीले बजेटमार्फत कालो धनलाई चोख्याउने नीति ल्याएकाले सरकार बिचौलिया र माफियाको प्रभावमा परेको दाबी गरे । ‘वर्तमान सरकार कालो धनको कारोबारमा डुबुल्की मार्न उद्धत छ, त्यसैले सरकारको त्यस प्रकारको गलत धन्दाविरुद्ध सबै जना विरोधमा उत्रनुपर्छ,’ ओलीले भने । कालोधनलाई मान्यता दिने सरकारी कार्यले नेपाल विश्वस्तरमा नै खतराको सूचीमा पर्न सक्ने भएकाले कालोधन चोख्याउने कार्यविरुद्ध एमालेले सशक्त आन्दोलन गर्ने चेतावनी ओलीले दिए ।

ओलीले गठबन्धन सरकार आफ्नै कारणले छिटै ढल्ने र निर्वाचनको घोषणा हुने दाबी गरे । अब छिट्टै निर्वाचन हुने र निर्वाचनमा जनताले फेरि एमालेलाई बहुमत दिएर शासनमा पठाउने दाबी गरे । ‘अब हुने निर्वाचनपछि हामी बहुमतका साथ सरकारमा जानेछौ र समृद्ध नेपाल र सुखी नेपालीको योजनालाई मूर्त रूप दिन्छौ,’ एमाले अध्यक्ष ओलीले भने ।

ओलीले एमालेमा सुदृढीकरण अभियान द्रुत गतिमा अघि बढेको र एमाले सबै जनताको ढुकढुकी बन्ने दाबी गरे । ओलीले जनताको बहुदलीय जनवादमार्फत मुलुक र जनताको अनुहारमा खुसी ल्याउने गरी विभिन्न महत्वपूर्ण कार्यक्रम ल्याउने स्पष्ट पारे । ओलीले एमालेले लोकतन्त्र प्राप्तिको आन्दोलनमा असाधारण योगदान गरेको स्मरण गर्दै लोकतन्त्रलाई मूल्य र मान्यताअनुरूप सञ्चालन गर्न आफुहरू प्रतिबद्ध रहेको बताए ।

उनले एमालेले विधान अधिवेशन र महाधिवेशनपछि एमालेले देश र जनतालाई केन्द्रित गरी महत्वपूर्ण कार्यक्रम ल्याउने र सोही कार्यक्रममार्फत नै एमाले आमजनताको प्रिय पार्टी हुने दाबी गरे । एमाले अध्यक्ष ओलीले आफ्नो सरकारले तीन वर्षको अवधिमा मुलुकमा विकास र सुशासनका क्षेत्रमा उल्ल्लेख्य कार्य गरेको दाबी गरे । उनले आगामी निर्वाचनमा एमालेको मुख्य एजेन्डा नै तीन वर्षमा थालिएको विकास र समृद्धिको कार्यक्रम र त्यसलाई पूरा गराउन फेरि पनि एमालेकै सरकार आवश्यक पर्नेगरी जनतासमक्ष जाने स्पष्ट पारेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।