२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी



अ+ अ-

दाङ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।

एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो ।

परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।

परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७/८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् । परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून् ? खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।

भनिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ यही विश्वाससाथ प्रेमिका राई ‘औपचारिक विवाह’ नै नभई परियारकी ‘श्रीमती’ बनिसकेकी थिइन् ।

परियारको परिवारमा थिए । एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइराम पनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।

जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो ।

तर, सोचेजस्तो जीवन नहुने रहेछ । आइतबार जे घटना भयो, त्यो परियारको सपनामा ‘पूर्णविराम’ बन्यो । प्रेम विवाहमा परिणत गर्ने उनको योजना भताभुंग हुन पुग्यो । वृद्ध पिता भाइरामको बुढेसकालको सहारा खोसियो । प्रेमिका मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएपछि परियारको सपना तुहिएको छ ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीका अनुसार राई आइतबार ‘घाँस काट्न’ भनेर बाख्रासहित नजिकै जंगलमा गएकी थिइन् । सँगै गाउँले पनि थिए । गाउँलेले उनी हिँड्न थालेको बाटो ‘धेरै अप्ठयारो भएको’ भन्दै राईलाई ‘नजान’ भने । तर, त्यसअघि पनि ‘त्यो बाटो हिँडेसकेको’ हुनाले उनले मानिनन् ।

परिणाम, भिरबाट लड्न पुगिन् । र, घटनास्थलमै मृत्यु भयो । घटनास्थल पुगेको प्रहरी टोलीले राईले ‘आफू जोगिन बुट्यान तथा झार जंगल समात्न प्रयत्न गरेको’ देखिएको जनाएको छ ।

डीएसपी सुवेदी ‘भिर माथिल्लो भागदेखि नै उनका कपडाका टुक्राटाक्री फेला परेको, कतै झार उखेलिएको, भिरबाटै पल्टिँदै मुनि पुग्दा शरीरभर घाउ चोट लागेको’ बताउँछन् ।

राईको शव पोस्टमार्टमका लागि दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । पोस्टमार्टमपछि शव रोल्पा ल्याएर प्रक्रिया पूरा गरिने भएको छ ।

डीएसपी सुवेदीले सामाजिक सञ्जालबाट नजिकिएर विवाह बन्धनमा बाँधिन रोल्पा आएकी राईको प्रदीपसँग भेट नभएरै जीवन लीला समाप्त भएको सुनाएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।