५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

ललितपुर महानगरपालिकाः फोहर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा

ललितपुर महानगरपालिकाः फोहर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा
अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।

खासगरी सत्ता गठबन्धन दलका उम्मेदवार, नेकपा (एमालें) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले आफू विजयी भएमा यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाबासी लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । विगतदेखि नै यो मुद्दा चुनावी मुद्दा बन्दै आएकामा यो पटक पनि मुख्य विषय बनेको छ । महानगरभित्र पर्याप्त स्रोत नभए पनि समस्या जस्ताको तस्तै छ ।

फोहरमैला व्यवस्थापनका लागि महानगर आफैँले छुट्टै व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारले निर्माण गरेको ल्यान्डफिल साइटमा निर्भर छ । सो ठाउँमा फोहर फाल्न नदिँदा पटक–पटक समस्या भएपछि त्यसको विकल्प छैन । तीनै तहमा उठ्ने यहाँका उम्मेदवारले सधैँ खानेपानीको समस्या समाधान गर्ने र सहर सफा बनाउने प्रतिबद्धता भने कहिल्यै छोड्दैनन् ।

नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार चिरीबाबु महर्जन यसअघि पनि महानगरमा प्रमुख हुनुहुन्थ्यो । आफूले प्रमुखका रुपमा रहँदा पनि खानेपानी र फोहरमैला व्यवस्थापनको समस्या समाधानका लागि काम गरेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापन र खानेपानीको अभाव काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाको साझा समस्या भएको उहाँको भनाइ छ । गतवर्ष केही समय उपत्यकामा मेलम्ची आउँदा कतिपय स्थानमा पानी गए पनि कतिपय ठाउँमा नगएको उहाँले बताउनुभयो ।

विगतमा कुन ठाउँमा पानी आयो र कहाँ आएन भनी पत्ता लगाउन नसकिएकाले अब मेलम्ची आइसकेको अवस्थामा कहाँकहाँ समस्या छ पत्ता लगाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा त्यहाँ डिपट्युववेल खनेर पनि व्यवस्थापन गरिनेछ ।” काठमाडौँ महानगरपालिकामा जस्तो फोहरको ठूलो समस्या ललितपुरमा नभएको प्रमुखका उम्मेदवार महर्जनले बताउनुभयो ।

आफ्नो पाँच वर्षे कार्यकालमा सुक्ष्म तरिकाले फोहरको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । काठमाडौँमा दुई तीन दिन उठेन भने पनि ठूलो समस्या हुन्छ तर ललितपुरमा झण्डै १५ दिनसम्म पनि आफैँ व्यवस्थापन गरिँदै आएको छ । त्योभन्दा बढी दिनसम्म पनि ल्यान्डफिल साइटमा फोहर पठाउन नसक्दा भने समस्या हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बञ्चरेडाँडामा छिटोभन्दा छिटो सङ्घीय सरकारले हस्तान्तरण गरेमा स्थानीय सरकारले नै त्यसको व्यवस्था गर्नसक्छ ।”

आफूले फोहर व्यवस्थापनका लागि महानगरको दक्षिणतर्फको ठाउँमा प्रयास गरेको भए पनि भूगोलका कारणले योजना अघि बढाउन नसकिएको प्रमुखका उम्मेदवार महर्जनले बताउनुभयो । विगतमा सिसडोलमा फोहर पठाउन समस्या भएपछि एस्कलौटी फोहर व्यवस्थापनका लागि अध्ययन गर्न थाल्दा नागरिक उडययन प्राधिकरणले दक्षिण क्षेत्र उडययन् रुटमा फोहर फाल्दा दुर्घटनाको सम्भावना छ भनेकाले अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छुट्टै व्यवस्थापन गर्न नसकिए पनि हामीले सानासानो तहमा व्यवस्थापन गरेर दुई सातासम्म फोहर बाहिर निस्कन नदिएको छु ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृृष्ण ब्यञ्जनकारले आसन्न निर्वाचनमा आफू विजयी भए पनि पहिलो कामका रुपमा महानगरको भित्री बस्तीमा रहेको खानेपानीको समस्या समाधानमा लाग्ने बताउनुभयो । नागरिकको मौलिक हकका रुपमा खानेपानीको हक रहेको र त्यसको कार्यान्वयन गर्नु स्थानीय सरकारको जिम्मेवारी हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “मानिसको भान्छादेखि दैनिक जीवनमा समेत पानीले प्रत्यक्ष भूमिका खेल्ने भएकाले अब महानगरवासीले काकाकुल हुने अवस्थाको अन्त्य गर्न लागिनेछ ।” महानगरपालिकालाई फोहरमुक्त बनाउन आफूले योजना बनाएको प्रमुखका उम्मेदवार ब्यञ्जनकारले बताउनुभयो । फोहरलाई मलमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभएको छ । लामो समयसम्म फोहर उसै राख्दा रोगको जोखिम रहेकाले आधुनिक प्रविधिको प्रयोगमार्फत मल बनाएर खेतबारीमा प्रयोग गर्ने बस्तु बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “म विजयी भएर गएपछि महानगरपालिकाको गल्लीमा कुनै दिन फोहर थुप्रेर रहने छैन ।”

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखका उम्मेदवार अष्टबहादुर महर्जनले खानेपानी र सरसफाइ आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो । आफू निर्वाचित भएपछि पहिले कुनकुन वडमा पानीको समस्या छ भनी विस्तृत रुपमा बुझ्न लाग्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएपछि त्यसैका आधारमा बढी समस्या भएका ठाउँलाई प्राथमिकता दिएर कार्यक्रम अघि बढाइनेछ । उहाँले भन्नुभयो, “नगरको टोलटोल सफा भएपछि मात्रै नागरिक पनि स्वस्थ हुनेछन् ।”

नेकपा एमालेका तर्फबाट उपप्रमुखकी उम्मेदवार मञ्जली शाक्य (आस्था) नागरिकको मौलिक हक कार्यान्वयन पहिलो प्राथमिकता रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य र खानेपानी नागरिकलाई पुर्याउने कुरामा ध्यान दिइने उहाँले बताउनुभयो । नगरका कतिपय भित्री बस्तीमा धारामा कहिल्यै पानी नआउने समस्या रहेको छ । उहाँले भन्नुभयो, “सबै नागरिकलाई पानी खुवाउने योजना छ ।” सरसफाइको विज्ञ राखेर परियोजना अघि बढाउने र फोहरलाई मोहर बनाउने योजना कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।

एक वर्षभित्र प्लाष्टिकमुक्त र फोहरमुक्त सहर बनाइने उहाँले बताउनुभयो । सहरलाई सुन्दर र सफा बनाउनकै लागि भित्री सहरमा विद्युतीय गाडि चलाउने योजना उहाँले सुनाउनुभयो । त्यसका लागि विभिन्न देशसँगको सहकार्यमा कार्यक्रम अघि बढाउने गरी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “पर्यावरणको संरक्षणका लागि ५० लाख बिरुवा रोप्ने योजना छ ।”

नेकपा (माओवादीका) तर्फबाट उपप्रमुखका उम्मेदवार बाबुराज बज्राचार्यले खानेपानी र ढल व्यवस्थापन गरेर सहर सफा बनाउने योजना रहेको बताउनुभयो । भूगोल र जनसङ्ख्याका हिसाबले ठूलो नगर भएकाले धेरै समस्या रहेको र त्यसमा पनि सबैभन्दा ठूलो समस्याका रुपमा खानेपानीको समस्या रहेकाले त्यसको समाधानमा ध्यान दिइने उहाँले बताउनुभयो । मेलम्चीको पानी महानगरका धेरै ठाउँमा नपुग्दा अहिले पनि पानीको समस्या हट्न सकेको छैन ।

अहिले पनि महानगरका भित्री बस्तीमा ढलको समस्या छ । वर्षाको समयमा ढल फुटेर फोहरपानी बाहिर निस्कने समस्या रहेकाले नगर सफा सुग्गर बनाउने उपप्रमुखका उम्मेदवार बज्राचार्यको योजना छ । अहिले नटोलबाट ग्वार्खो जाँदा दायाँबायाँ हेर्दा फोहर जम्मा र ढल फुटेर नाला रहेका र त्यो र त्यस्तै समस्या समाधान गरिने उहाँले बताउनुभयो ।

महानगरभित्र बधशालाको पनि समस्या रहेको कुरा आफुले लामो समयदेखि उठाउँदै आएको भन्दै उहाँले भन्नुभयो, “नागरिकले सफा मासु खान पाउने गरी व्यवस्था मिलाइनेछ ।” महानगरका उम्मेदवारले आर्थिक विकास, पूर्वाधार विकास, लैङ्गिक समावेशी महानगरको पनि योजना अघि सारेका छन् । कला र संस्कृतिको केन्द्रका रुपमा रहेको महानगरमा सम्पदा संरक्षणसमेत उम्मेदवारले प्राथमिकतामा राखेको पाइन्छ ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि महानगरका प्रमुखमा १४ र उपप्रमुखमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा १६९, वडा सदस्यमा २६६, महिला सदस्यमा १२६ र दलित महिला सदस्यमा ५७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।