• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

कार्टुनिष्टको ‘निसाना’मा भ्रष्टाचार प्रवृत्ति…



काठमाडौं । ‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड… हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भन्नुभयो ।

एउटा कार्टुनभित्रको दृश्यचित्रले औँल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्चै वास्तविकताको नजिक देखिन्छ । उक्त दृश्यलाई कार्टुनिष्ट राजेश केसीले उतार्नुभएको हो । उहाँका ती चित्रले हजार शब्दले बोल्न नसकेको कुरा स्पष्ट पारेका छन् । कार्टुन सरकारका मन्त्रीहरूको व्यवहारबारे दर्शक पाठकको मन उद्धेलित गराउँछ खालको छ ।

अर्का चर्चित कार्टुनिष्ट वात्सायानले पनि भ्रष्टाचारप्रति दरिलो झापड हान्ने गरी कार्टुन बनाउनुभएको छ । समसामयिक विकृति विसङ्गतिलाई जीवन्त बनाउने उहाँले यसपटक दुई महिलाको संवादलाई जोडेर भ्रष्टाचार विरुद्धको अभियानमा कार्टुनमार्फत ऐक्यबद्धता जनाउनुभएको छ ।

आकर्षक महल देखेर एक महिलाले सोध्नुहुन्छ, “कसरी जोड्नुभयो यति धेरै सम्पत्ति ।” श्रीमान्ले अफिसाँ जनताको सेवा गरेर उपहार पाएको १”, अर्की महिलाबाट सहज जवाफ आउँछ । छोटो संवाद छ तर यसले समाजलाई ठूलो सन्देश प्रवाह गर्न सफल भएको छ ।

यी दुई कार्टुन समाजका विकृतिको प्रतिबिम्बका हुन् । केही कर्मचारीले र मन्त्रीले छोटो समयमा अस्वाभाविक सम्पत्ति जोडेको भनेर बेलाबेलामा समाचारहरू सार्वजनिक हुने गरेका पाइन्छ ।

बिना स्रोत र बिना श्रम रातारात धनी बन्ने प्रवृत्तिविरुद्धको तीखो प्रहार वात्सायान र राजेश केसीका कार्टुनले मात्रै गरेको छैन । आजदेखि काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शन गरिएका अन्य ४८ कार्टुन पनि भ्रष्टाचार, विकृति, विसङ्गतिविरुद्ध उभिएका देखिए ।

कलाकारले भ्रष्टाचार विरुद्धको अभियानस्वरुप ‘निसाना’ शीर्षकमा सुरु गरेको कार्टुन प्रदर्शनीमा कार्टुनिष्ट विश्व थापाले खुलमखुला घूस मागेको सन्दर्भदेखि वासु क्षितिजले अनुदानको रकम कसरी दुरुपयोग भइरहेको र कुर्सीको लडाइँलाई कस्तो छ भन्ने कुरा कार्टुनमार्फत छर्लङ्ग पार्नुभएको छ ।

कार्टुनिष्ट सुदर्शन सिग्देलले विद्यालय खाजा कार्यक्रमलाई प्रहार गर्दै कार्टुन बनाउनुभएको छ । विद्यार्थीका लागि आएको विद्यालय खाजा कार्यक्रमले विद्यार्थी दुब्लाइरहेको तर अन्य व्यक्तिहरू मोटाइरहेको उहाँको चित्र यथार्थ चित्रण गर्न सफल देखियो । सिग्देल भन्नुहुन्छ, “खाजा कार्यक्रममा जे भइरहेको छ, त्यही दृश्य उतार्ने प्रयास गरेको छु ।”

अर्का कार्टुनिष्ट देवेन्द्र थुम्केली एकजना विद्यार्थीलाई बिम्ब बनाएर विद्यार्थीमाथि थोपरिएको भारलाई चित्रण गर्न सफल हुनुभएको छ । ट्युशन फी, अतिरिक्त फी, विलम्ब फी, मासिक र परीक्षा फी तिर्दा तिर्दा विद्यार्थी आजित भएको कुरा उहाँले देखाउनुभएको छ । जबकि शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने कुरा हो तर यहाँ विद्यार्थीमाथि कसरी आर्थिक प्रहार छ भन्ने कुरा उक्त कार्टुनले स्पष्ट पार्छ ।

प्रदर्शनीमा कलाकारले कार्टुनमार्फत राजनीतिक दल, सरकारी गतिविधि, न्यायालय, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा भएका विकृतिलाई कार्टुनमार्पmत पर्दाफास गर्ने प्रयास गर्नुभएको छ ।

“हरेक कार्टुन लिड स्टोरी हो, कार्टुनले दिने सन्देश अझै तीखो हुनु जरुरी छ”, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले भन्नुहुन्छ, “सांसद, जनप्रतिनिधिका निकायका कार्टुन बनाउनुपर्ने अवस्था किन आइरहेको छ, हेर्नु जरुरी छ ।”

विकृति–विसङ्गतिविरुद्ध रङ, रेखा र शब्दमार्फत उहाँहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गर्नुभएको छ । चित्रकार देवेन्द्र थुम्केली कार्टुनिष्ट जहिले पनि प्रतिपक्ष हुने र विकृति र विसङ्गति उत्खनन गर्नु उनीहरूको दायित्व भएकाले एउटा प्रयास गरिएको बताउनुहुन्छ ।

कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिज भन्नुहुन्छ, “पत्रिकाको पानामा कार्टुन बनाइरहेका छौँ, तर विकृति विसङ्गतिको नेटवर्क यति ठूलो भइसकेको छ कि पत्रिकाका पन्नामा राखेर मात्रै सम्भव भएन, त्यसैले सातै प्रदेशमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरेर सचेतना फैलाउन पहिलो अभियान थालेका हौँ ।” उहाँले हेरेर मात्रै सीमित नगरी सामाजिक सञ्जालमार्फत पनि कार्टुनहरू सार्वजनिक गर्न अनुरोध गर्नुभएको छ ।

पत्रकरा महासङ्घका अर्र्का पूर्वअध्यक्ष विष्णु निष्ठुरी प्रणाली धेरै बदलिए पनि पद्धति बदल्न सकिएन भन्ने उदाहरण कार्टुनले देखाएको बताउनुभयो । उहाँले राज्यको प्रणाली कमजोर भयो भने नागरिकको अवस्था झन् कमजोर हुने उल्लेख गर्दै नागरिकलाई जागरुक बनाउनका लागि बलियो सन्देश कार्टुनले बोकेको छ भन्नुहुन्छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल कार्टुन भ्रष्टाचारविरुद्ध सशक्त रहेको र खबरदारी आवश्यक भएको औँल्याउनुहुन्छ ।

कार्टुन प्रदर्शनीका सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नुभएको हो । उहाँ भन्नुभयो, “कार्टुन भनेको कलम होइन मुटुले बनाउने कुरा हो, जसमा साँच्चैको समाजको चित्रण सिर्जनामा हुन्छ”, सापकोटाले भन्नुभयो, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।” रासस