काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो काममा दलिय छायाँपर्न नदिएको बताउनु भएको छ । न्युज २४ टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता दिदै राष्ट्रपति भण्डारीले भन्नुभयो ‘बाहिर आ–आफनो दृष्टिकोण अनुसार व्याख्या हुने गरेको छ तर मैले आफनो अधिकारको क्षेत्रभित्र रहेर मात्रै काम गर्ने गरेको छु ।’
उहाँले राष्ट्रपतिको अधिकार के हो ? त्यसमा रहेर व्याख्या गर्नुपर्ने भएपनि कुन बेला कुनलाई के असर पर्छ त्यसमा रहेर कुरा गर्नु गलत हो । राष्ट्रपति भण्डारीले भन्नुभयो,‘मैले संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु ।’
राष्ट्रपति भण्डारीले आफु राजनीतिक जीवनमा सक्रिय रहदा आफुले भोगेका कुरा अरुले भोग्न नपरोस भनेर महिला सहभागिता बृद्धिमा लागेको अनुभब सुनाउनु भयो । अहिले स्थानिय तहमा देखिएको महिला सहभागिता प्रसंसनीय रहेपनि मानसिक रुपमा त्यो ढंगको तयार अझै भईनसकेको उहाँले बताउनुभयो ।
‘महिलामा क्षमता भएर पनि अविश्वास अझै छ, भौतिक रुपमा महिलालाई स्वीकार गरेपनि मनोवैज्ञानिक रुपमा स्वीकार गर्न अझै समय लाग्छ ।’ महिलाले आफुले पाएको जिम्मेवारीमा विश्वास दिलाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।