१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाईदै



अ+ अ-

काठमाडौँ ।  आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । 

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

तलेजु भवानी मन्दिर आजमात्र खुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो । रासस