२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ३० को मृत्यु



अ+ अ-

कैलाली । अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङमा आठ र कैलालीमा एक जनाको मृत्यु भएको छ । यस्तै विपद्मा परी घाइते हुने १६ जना पुगेका छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङमा एक गरी १६ जना घाइते भएका छन् । 

डोटीमा विपदमा परी मृत्यु हुने थप व्यक्तिमा बड्डीकेदार गाउँपालिकाका ५० वर्षीया चनरीदेवी नेपाली, जोरायल गाउँपालिकाका १५ वर्षीय पुस्कर विक, शिखर नगरपालिकाका २६ वर्षीया मन्धरा बलायर र सायल गाउँपालिकाका ७४ वर्षीय वीरे रोकाया छन् ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकाका ४९ वर्षका बिरु गिरी, ४५ वर्षीया चन्द्रदेवी गिरी, ४८ वर्षका धर्म रोकाया, ४५ वर्षीया जैसरादेवी रोकाया, ६८ वर्षीय रने आग्री, थलारा गाउँपालिकाका छ वर्षीय आयुस पार्की र सात वर्षका विकास पार्कीको पनि मृत्यु भएको पुष्टि भएको छ । 

विपद्मा परी बझाङमा २१ र बैतडी, कैलाली, डोटी जिल्लामा एक/एक गरी २४ बेपत्ता भएका छन् । बझाङको थलारामा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ । उक्त ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएकोे छ । पहिरो गएको ठाउँबाट दुई जनाको शव निकालिएको छ ।

पहिरोका कारण बझाङमा १२, डोटीमा तीन र डडेल्धुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।  विपदमा परी बाजुरा, डोटी, डडेलधुरा, बझाङ, जिल्लामा पशु चौपाया पनि मरेका छन् ।

यता कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानका कारण विस्थापित भएका परिवारलाई नेपाली सेना र प्रहरी टोलीद्वारा सुरक्षित स्थानमा सारिएको छ । कैलालीको जानकी गाउँपालिका–९ को वन क्षेत्रमा कर्णालीको बाढीका कारण फसेका प्रेम चौधरी र रामदयाल चौधरीको नेपाली सेनाको हेलिकोप्टरबाट बुधवार सकुशल उद्धार गरिएको छ ।