१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने काठमाडौँ महानगरको लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज र भोलि गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो । आज वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम सुरु गर्नुभयो । महानगरले २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ । 

कार्यक्रम सुरु गर्दै प्रमुख शाक्यले, महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । ‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौँ । तर कतिपय सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ । गएको बर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकर्षित हुनुहुन्छ ? हामीले हाम्रा सेवाको समीक्षा गर्नुपर्छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ ।’

त्यस क्रममा उदय चुडामणि बज्राचार्यले, निःशुल्क स्वास्थ्य र शिक्षाका लागि आफूहरुले प्रयास गरिरहेको बताउनुभयो । महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार ०७८ बैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ बर्षसम्मका ५ हजार ९९५ जना र १ बर्षदेखि ५ बर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो ।
 
महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई -भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।