दुबईः विश्वकप टी२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया लगातार दुई खेलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई सात विकेटले पराजित गरेर महत्वपूर्ण दुई अंक हासिल गरेको छ ।
टस जितेर पहिले क्षेत्ररक्षण रोजेको अस्ट्रेलियाले श्रीलंकालाई १५४ रनमा रोकेको थियो । एक सय ५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले डसुन सनाकाको बलमा आउट हुनुअघि ६५ रन बनाएका थिए । उनले १० चौका प्रहार गरे ।
अस्ट्रेलियाका लागि स्टिभेन स्मिथले अविजित २८ रन, मार्कस स्टोइनिसले १६ रन तथा कप्तान आरोन फिन्चले ३७ रन बनाएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निशान्काले ७, कुशल परेराले ३५, चरिथ असालान्काले ३५, अभिष्का फर्नान्डोले ४, भानुका राजपाक्षले ३३ रन बनाएका थिए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले दुई दुई विकेट लिएका थिए ।
यो जितसँगै अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । यस समूहमा इङल्यान्डको पनि समान ४ अंक छ । दक्षिण अफ्रिका र श्रीलंकाको २,२ अंक छ भने वेस्ट इन्डिज र बंगलादेशले कुनै अंक हासिल गर्न सकेका छैनन् । एजेन्सी