काठमाडौंः काेराेना महामारीसँगै भएकाे लकडाउन खुलेपछि पर्यटकको संख्या वृद्धि भएसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनी ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सानमा छ । तथापि, एक वर्षको अवधिमा कम्पनीको नोक्सानमा भने कमी आएको छ ।
यस अवधिमा नोक्सानी ४ करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वव्यपी फैलिएको कोरोना महामारीको असर कम हुँदै गएपछि व्यवसायमा सुधार आए पनि हालसम्म असर कायम नै भएकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा कात्तिक मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानीमा पनि सुधार आएको छ । यस अवधिसम्म आइपुग्दा यसले ८ करोड १५ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको सञ्चालन आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्रै थियो । गत वर्ष २ लाख ९६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष भने १ लाख ३ हजार रुपैयाँ सीमित भएको छ ।
यता, प्रतिसेयर आम्दानीमा भएको नोक्सानी पनि घटेको छ । गत वर्ष ७ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो वर्ष २ रुपैयाँ ५२ पैसा नोक्सानीमा आएको छ । प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक छ ।