इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा लिगको शीर्ष स्थानमा रहेको चेल्सीले आफ्नो विजय यात्रा कायमै राखेको छ । तर म्यान्चेस्टर सिटी भने क्रिस्टल प्यालेससँग नराम्रोसँग पराजित भएको छ ।
चेल्सीले न्यूक्यासल युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । चेल्सीका लागि रिज जेम्सले दुई गोल गरेका थिए । उनले ६५ र ७७ औं मिनेटमा गोल गरेका थिए भने एक गोल पेनाल्टीबाट प्राप्त भएको थियो ।
चेल्सीका लागि जोर्जिन्होले ८१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरी चेल्सीको अग्रतालाई तेब्बर बनाएका थिए ।
यो जितसँगै चेल्सीले १० खेलबाट २५ अंक जोडेर पहिलो स्थान कायमै राखेको छ । दोस्रो स्थानको लिभरपुलले भने ब्राइटनसँग बराबरी भएपछि १० खेलबाट २२ अंक जोडेको छ ।
तेस्रो स्थानको म्यान्चेस्टर सिटी भने क्रिस्टल प्यालेससँग नाटकीय रुपमा २–० गोल अन्तरले पराजित भयो ।
आफ्नै गृह मैदानमा भएको यस खेलमा क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहाले सातौं र कोनोर कालाघारले ८८औं मिनेटमा गोल गरेका थिए ।
यस खेलमा जाहालाई फल गरेको भन्दै सिटीका डिफेन्डर आइमेरिक लापोर्टेलाई पहिलो हाफको अतिरिक्त समयमा रेफ्रीले रातो कार्ड दिएका थिए । यसपछि १० खेलाडीमा सीमित भएको सिटीले लगातार क्रिस्टल प्यालेसमाथि दबाब बनाएर गोल गर्ने प्रयास गरेको थियो ।
सिटीका ग्याब्रिएल जेसुसले गरेको क्रस गोललाई अफसाइड घोषित गरिएको थियो ।
अंक तालिका
स्थान | टिम | खेल | अंक |
१ | चेल्सी | १० | २५ |
२ | लिभरपुल | १० | २२ |
३ | म्यान्चेस्टर सिटी | १० | २० |
४ | वेस्टह्याम | ९ | १७ |
५ | म्यान्चेस्टर युनाइटेड | १० | १७ |