२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकरामले छेडे जिब्रो



अ+ अ-

–रमेश गिरी

भक्तपुर, १० असोज (रासस) ः मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेड्नुभएको हो ।

विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उहाँले हजाराँै मानिसको अगाडि जिब्रो छेड्नु भएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ । ‘चेंया पुन्हिया मेय प्वा ः खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उहाँले जिब्रो छेड्नु भएको हो । जिब्रो छेड्नु अघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमानढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएको केहीबेर पछि जिब्रो छेडिएको थियो ।

मङ्गलबार दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघिपछि राखी जिब्रो छेडाउने बालकरामले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय्अर्थात् महाद्वीप बोकेर नगरपरिक्रमा गर्नुभएको थियो । जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको हो । विगतमा यस दिन एकैपटक २७ जनासम्मले जिब्रो छेडाएको भेटिन्छ । उक्त जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुह्ेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरे पनि अहिले भने थिमी विभिन्न टोल घुमाउने गरेको समितिका सचिव हरिसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुनेसमेत विश्वास रहीआएको छ । जिब्रो छेडाउनु भएका बालकरामले भन्नुभयो, “कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको हुँ ।”

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए । यस वर्ष आफ्ना पिताको आशोच बारेकाले वीरेन्द्रभक्तले जिब्रो छेड्न नहुने भएपछि बालकरामले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको हो । जात्राका लागि कर्मीनाय रामभक्त नकर्मीले फलामको १० इन्च लामो सियो बनाएर करीब ४५ दिन तेलमा डुबाएर राख्नुभएको थियो । पच्चीस वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा गरी दश वर्षमा तीनपल्ट जिब्रो छेडाउनु भएको थियो । त्यसपछि गत वर्ष स्थानीय युवाले समितिनै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि गत वर्षदेखि यो जात्रा शुरु भएको हो ।

किम्बदन्तीअनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले थिमीका बासिन्दालाई धेरै दुःख दिए । यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रमा गरेपछि दुःख दिन छोडेको र यो जात्रा सञ्चालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेको २०६३ मा जिब्रो छेडाउनु भएका कृष्ण नानिचा श्रेष्ठ बताउनुहुन्छ । जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ (मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा) गर्ने प्रचलन छ । आठ दिन अघिदेखि एक छाक मात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपक्षीलाई छुन नहुने, जिब्रो छेडाउने एकदिन अघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने चलन छ ।

त्यस्तै जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाई नगरका मानिसलाई भोज खुवाइएको थियो । जिब्रो छेडाउन थिमीमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गरिएको थियो । जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करीब रु सात लाख खर्च हुने अनुमान गरिएकोमा नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ । यो जात्राका लागि गत वर्ष रु एक लाख सहयोग गरेको मध्यपुरथिमी नगरपालिकाले यस वर्ष भने रु तीन लाख ५० हजार सहयोग गरेको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।