निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट तयार भएको छ । रिपोर्ट अदालतसमक्ष बुझाउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कठायतका अनुसार तीनै जनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको छ । निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो ।
सरकारी वकिलसँगको परामर्शपछि अदालतमा पेश गरेर डिएनए खोलिने कठायतको भनाई छ । यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । साउन १० गते रोशनीको घर गएकी निर्मलाको साउन ११ गते विहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । निर्मला हत्याका सबै प्रमाणहरु नष्ट भएपछि आरोपितहरुको डीएनए परीक्षण गर्नुपरेको हो ।










