६ आश्विन २०८१, आईतवार
,
Latest
कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जमा पर्यटक बढे



अ+ अ-

चितवन । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०७४/७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनमा ८ हजार ३९४, भदौमा सात हजार ३६३, असोजमा १२ हजार ७९६, कात्तिकमा २६ हजार १६४ र मङ्सिरमा १७ हजार ९७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । यीमध्ये विदेशी ५० हजार ७६४, सार्क मुलुकका सात हजार ३८७ र नेपाली १३ हजार ६५९ जना रहेका छन् ।

गत आर्थिक वर्षको साउनमा ६ हजार ५२२, भदौमा तीन हजार ८५९, असोजमा ११ हजार ९६९, कात्तिकमा १८ हजार १७१ र मङ्सिरमा १२ हजार ५६४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीमध्ये विदेशी ४० हजार ५३, सार्क मुलुकका चार हजार ४९६ र नेपाली आठ हजार ५३६ रहेका थिए ।

सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा १ एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । सोही आर्थिक वर्षको वैशाखमा भूकम्प गएपछि, नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक समस्या लगायतका कारण पर्यटकको सङ्ख्या लगातार घट्दै गएको थियो । गत आर्थिक वर्षमा २०७४/७५ मा एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७३/७४ मा एक लाख ३९ हजार ९७८ र २०७२/७३ मा ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यो तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसवर्षको पर्यटक आशालाग्दो देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । निकुञ्जको सौराहा, घटगाई, कसरा पुलगेट र देवनगर, वनकट्टा, लौखानी, अमलटारी, कुजौली क्षेत्रबाट पर्यटक मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने गर्दछन् । उनीहरु हात्ती, डुङ्गा, जिप, पैदल मार्फत् ती क्षेत्रको भ्रममा जाने गरेका छन् ।

यस बाहेक पनि चितवनका पर्यटकीय क्षेत्रमा आएर निकुञ्ज प्रवेश नगर्ने पर्यटकको सङ्ख्या पनि ठूलो हुने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षलाई बुकिङ राम्रो

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे विगतका वर्षको तुलनामा यसवर्ष पर्यटक आगमन राम्रो रहेको बताउनुहुन्छ । उहाँका अनुसार अङ्ग्रेजी नयाँ वर्षको आसपासको समयका लागि ९० प्रतिशतभन्दा बढी होटल बुक भइसकेका छन् । उक्त समयमा होटल शतप्रतिशत भरिभराउ हुने घिमिरेले बताउनुभयो ।

पुस ११ गतेदेखि सौराहामा हात्ती महोत्सव हुनेभएकाले उक्त समयमा पनि पर्यटक आगमन निकै राम्रो हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । घिमिरेका अनुसार नयाँ वर्षपछि जनवरी पर्यटकीय हिसाबले त्यति राम्रो नभए पनि त्यसपछि पर्यटक आगमन क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।

उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधिका सबै अवरोध हटेका छन् । आगमन राम्रो हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” विगतमा भारतीय नाकाबन्दी, भूकम्पका कारण सुस्ताएको यहाँको पर्यटन व्यवसायमा नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति कार्यले सडक यातायात असहज हुँदा पर्यटक आगमन निराशाजनक रहेको थियो । यस्ता अवरोध सबै हटेकाले पर्यटक आगमनमा राम्रो सुधार हुने अपेक्षा व्यवसायीको छ ।

घिमिरेले हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा चितवन पर्यटक आएकोमा त्योभन्दा बढी पर्यटक यसवर्ष भित्रिने अपेक्षा गरिएको बताउनुभयो । अहिलेसम्मको तथ्याङ्क सकारात्मक रहेको भन्दै उहाँले पर्यटकीय वातावरण नबिग्रिएमा यस आर्थिक वर्ष पर्यटन क्षेत्रका लागि उपलब्धीपूर्ण हुने बताउनुभयो । चितवन आउने पर्यटक सौराहा, जगतपुर, पटिहानी, मेघौलीमा बस्ने गर्दछन् । निकुञ्जसँगै उनीहरूले सूर्योदय देख्न सकिने सिराइचुली, पवित्र तीर्थस्थल देवघाट लगायतका क्षेत्रमा भ्रमण गर्ने गर्दछन् । रासस