८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको ठेकेदार हप्तादिनदेखि सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ ।

सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ ।

मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजाना र ठेकेदारपक्षसँग संवाद नभएको प्रस्ट्याउनुभयो ।

‘गएको सोमबार नेपाल फर्किने भनेर ठेकेदार कम्पनीले नेपाल छोडेको थियो’, उहाँले भन्नुभयो–‘त्यसको अघिल्लो दिन हामी आउँछौँ भनेर इमेल आएको थियो । त्यसयता न ठेकेदार आयो न इमेल नै ।’

बोर्डले समस्या समाधानका लागि कम्पनीका सीइओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेली नभए प्रतिनिधिलाई वार्तामा बोलाएको थियो । कम्पनीले आउने संकेत दिएको थियो । तर अहिलेसम्म उनीहरु नेपाल फर्किने/नफर्किने ठेगान छैन ।

क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरिएको थियो । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित छ।

पुस २३ गते फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो ।

आयोजना र ठेकेदारबीच हुने संवादमा बाँकी काम सम्पन्न गर्नेबारे वार्ताबाटै समाधान निकाल्ने विषयमा कुरा हुने गरेको मेलम्ची बोर्डले जनाएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले ठेकेदार आउने भनिए पनि अहिलेसम्म नआएको र पछिल्लोपटक केही संवाद नभएको बताउनुभयो ।

‘ठेकेदार आउने त भनेको छ । तर अझै नेपाल आएको छैन । पछिल्लोपटक संवाद भएजस्तो लाग्दैन । मन्त्रालयले पर्खेर बसिरहेको छ । कुनै निर्णय गरेको छैन । उनीहरु आउने भन्दाभन्दै अर्को निर्णय त लिनुभएन नि ।’–उहाँले भन्नुभयो ।

खानेपानी मन्त्री विना मगरको सचिवालयले समस्या समाधानका लागि प्रयास भइरहेको जनाउँदै ठेकेदार पक्षसँग निरन्तर संवाद भइहरेको दावी गरेको छ ।