१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थल निर्माणका लागि ४ अर्ब खर्चिएर टाँगिया बस्ती सार्ने



अ+ अ-

वीरगञ्ज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आयोजनास्थलमा पर्ने टाँगिया बस्ती सार्ने प्रक्रिया थालिएको छ ।

निर्माण शुरु नहुँदै ‘विकास भर्सेस पर्यावरण’ भन्ने विवादमा परेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका नाममा १,४७६ घरधुरीलाई ११ वर्षदेखि खानेपानी, बिजुली, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सुविधाबाटै वञ्चित गरिएको थियो ।

सरकारले उक्त आयोजना सुचारु गरेपछि आयोजनामा बाधा पुग्ने भन्दै बस्ती सार्न करिब ४ अर्ब रुपैयाँ खर्चन लागिएको हो । जितपुर सिमरा उपमहानगरपालिका– १६ मा पर्ने टाँगिया बस्तीलाई सोही वडाको पिलुवा, वडा नं १७ को रामनगर हरैया र कोल्हवी नगरपालिकाको उत्तर तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलले विमानस्थल निर्माणका लागि एक हजार बिघामा फैलिएको बस्ती स्थानान्तरण गर्नुको विकल्प नदेखिएको बताए ।

‘झाडी र बुट्यान मात्रै भएको पसाहा, हरैया र कोल्हवी उत्तरको तामागढी क्षेत्र गरी तीन स्थानमा जग्गा खोजेका छौं’, उनले भने ‘संभाव्यता अध्ययन गर्न सरकारले टोली पठाउँदैछ ।’

यी तीनमध्ये एक ठाउँमा एकीकृत नमूना बस्ती निर्माण गरेर टांगियाबासीलाई सारिने मेयर पौडेलले बताए ।

टाँगिया बस्तीमा अहिले पनि बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको सुविधा छैन । यहाँ रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक आधारभूत विद्यालयको भवन निर्माणका लागि २०६७ सालमा गाउँमा यज्ञ आयोजना गरी रकम जुटाइएको थियो । तर, जिल्ला शिक्षा कार्यालयले अनुमति नदिएपछि भवन निर्माणको योजना अलपत्र पर्यो ।

सोही वर्ष बाराबाट निर्वाचित तत्कालीन सांसदद्वय पुरुषोत्तम पौडेल र जयराम दाहालले सांसद विकास कोषको रकम मार्फत विद्युत् लाइन विस्तारका लागि बिजुलीका २० थान पोलको व्यवस्था गरे । तर, विद्युत् कार्यालयले त्यसलाई पनि रोकिदियो ।

पछि ती पोल अन्य गाविसमा वितरण गरिए । टाँगिया बस्ती सरोकार समितिका अध्यक्ष सापकोटाका अनुसार, विद्यालयको माग गर्दै यहाँका बासिन्दा शिक्षा मन्त्रालयसम्म पनि पुगे । तर, विमानस्थलको कारण देखाएर मन्त्रालयले विद्यालय स्थापनाको अनुमति दिएन ।

बस्तीमा १,४७६ घरधुरी छन् । बस्तीमा स्वास्थ्य सेवा उपलब्ध नरहेकाले स्वास्थ्य क्लिनिक सञ्चालनका लागि यहाँका गाउँलेले व्यक्तिगत रूपमा रकम उठाएर भवन निर्माण पनि शुरू गरे ।तर, कतैबाट सहयोग नपाएपछि त्यो काम पनि अघि बढ्न नसकेर अलपत्र छ ।