२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली बिजक बिक्री आरोपमा २४ वटा फर्ममाथि मुद्दा दायर, एक अर्ब ७५ करोड बिगो दाबी



अ+ अ-

ललितपुर । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छलिमा संलग्न मुख्य आरोपी दुई व्यक्तिमाथि एक अर्ब ७५ करोड बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले उक्त नक्कली बिल बिजक बिक्री गरेको आरोपमा जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ समेत गरेको छ । उनीहरुले बिक्री गरेका नक्कली बिजकका कारण भएको राजश्व बापत रु. एक अर्ब ७५ करोड बिगो दाबी गरिएको छ ।नक्कली बिल बिजकमा संलग्न २४ वटा फर्ममाथि समेत कारबाही गरिएको छ ।

विभागका महानिर्देशक दिर्घराज मैनालीले विभागमा आयोजित पत्रकार सम्मेलनमा बिल बिजक बेचेरै मुख्य प्रतिबादीहरुले काठमाडौंको मुख्य स्थानमा घर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “फर्महरुका कारण कूल कारोबारको ३८ प्रतिशतसम्म राजश्व छलि भएको छ जसमा भ्याट बापतको १३ प्रतिशत र आयकर बापतको २५ प्रतिशत मात्र समावेश छ । तर भन्सार समेत छलेको भए राजश्व हिनामिनाको अङ्क अझ ठूलो हुनसक्छ ।”


उहाँले भन्नुभयो, “यी २४ फर्मको खरिद छैन, बिक्री मात्र गरेको देखिएको छ । एक वर्ष ठूलो कारोबार भएको देखिन्छ, अर्को वर्ष केही कारोबार नै छैन । र भएपनि ज्यादै कम मात्र कारोबार भएको देखिन्छ ।”

विभागका महानिर्देशक मैनालीका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा कामदारहरुको नाममा कम्पनी दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयबाट भ्याट दर्ता गर्ने र अर्को दिन बैंकमा खाता खोल्ने गरेको अनुसन्धानबाट देखियो ।


मुख्य आरोपी जयकिशोर र परमेश्वरले कम्पनी खोलेसँगै लगत्तै प्रिन्टिङ प्रेसबाट भ्याट बिल छाप्थे, र बजारमा बिक्री गर्थे । यी बिलहरु साना फर्महरुदेखि आपूर्तिकर्ता, निर्माण व्यवसायी, अर्को कम्पनी लगायतलाई बिक्री गरिन्थ्यो । यस्ता बिलको सहायताबाट फर्महरुले प्रत्यक्ष रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छल्न सहयोग पुग्थ्यो ।

निम्न स्तरका मजदुरहरुलाई आर्थिक प्रलोभनमा पारी तिनीहरुको नाममा फर्म कम्पनी खोल्ने गरेको पनि अनुसन्धानबाट थाहा लागेको विभागको भनाई छ । विभागका अनुसार, फर्मको खाता सञ्चालन तिनै मजदुर वा नक्कली बिलको कारोबार गर्ने व्यक्तिले आफूलाई कर्मचारीको रुपमा प्रस्तुत गरी दुबै जनाको दस्तखत कार्ड पेश गर्ने र कुनै एक जनाको दस्तखतबाट बैंक कारोबार गर्ने गरेको पाइयो ।

विभागका महानिर्देशक मैनालीले भन्नुभयो, “अनुसन्धानबाट यसको व्यापकता र विकराल रुपमा कर छलिको गम्भीर अवस्था छ भन्नेमा विभाग पुगेको छ ।”विभागले यस प्रकरणका मुख्य दोषी परमेश्वर साहलाई माघ ३ गते र जय किशोर साहलाई माघ ४ गते पक्राउ गरेको थियो ।


भ्याट छलिमा नेपालको इतिहासमै यो दोस्रो ठूलो कारबाही हो । यसअघि करिब ६ अर्ब भ्याट छलिमा अनुसन्धान भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् ।

विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम मुख्य आरोपीमाथि बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ ।