जनकपुरधाम । सात वर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम बिस्फोट घटनाको अन्तिम सुनुवाई सुरु भएको छ । आइतबार शुरु भएको सुनुवाईमा सोमबारसम्म सरकारी वकिलहरुले बहस सिध्याएका छन् ।
सोमबार जाहेरबालाको तर्फबाट बहस सकिए मंगलबार प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सुरु गर्नेछन् । प्रतिवादीको तर्फबाट धेरै कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् ।
बम विस्फोटका मुख्य योजनाकार भनिएका तत्कालिन सांसद सञ्जयकुमार साह र घटनामा संलग्न रहेको आरोपमा तत्कालिन तराई जनतान्त्रिक पार्टी मधेस नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, सहित मुकेश कर्ण र ओमप्रकाश यादवलाइृ थुनमा राखिएको थियो ।
उक्त मुद्दामा जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनुवाई भइरहेको छ ।
२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको स्थलमै बम विस्फोट भएको थियो । मिथिला राज्य संघर्ष समितिले आयोजना गरेको धर्ना कार्यक्रममा विष्फोट हुँदा रंङ्गकर्मी रञ्जु झा, झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।