
भद्रपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नहाल्नेहरूले कमजोर प्रतिपक्ष भनेर हल्ला फैलाएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै देउवाले भोट कम्युनिष्टलाई हाल्ने अनि काँग्रेस कमजोर भयो भनेर हल्ला गर्ने भन्दै आक्रोस पोखेका हुन् ।
सभापति देउवाले भोट दिने बेला काँग्रेस नचाहने अनि संसदमा प्रतिपक्षले बलियो उपस्थिति नदेखाएको भन्दै कांग्रेसको बदनाम मात्र गर्न खोजेको आरोप लगाए । उनले कांग्रेसको प्रतिपक्षीय भूमिका कमजोर नभएको दाबी समेत गरे ।
सभापति देउवाले कांग्रेसलाई कमजोर बनाउन गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको दाबी गरे । ‘प्रजातान्त्रिक पार्टीमा व्यक्तिका फरक विचारहरु पनि आउँछन् । यसलाई गुट–उपगुट भनेर गलत व्याख्या गरी हल्ला फैलाइयो ।’ सभापति देउवाले सरकार अधिनायकवादको बाटो लागिरहेको तर्क गरे । उनले प्रधानमन्त्रीले मन्त्री परिषदको अधिकार आफूमा निहित गर्नु, प्रेस स्वतन्त्रतालाई संकुचित पार्नु तथा सञ्चारकर्मीमाथि विद्युतीय कारोवार ऐनको नाममा धरपक्कड गर्नु अधिनायकवादको बाटो रोजेको प्रष्ट हुनु हो भन्दै तर्क गरेका हुन् ।
पत्रकारसँग कुरा गर्दै सभापति देउवाले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरको भएकोले उनकी श्रीमती ललितादेवीले भोगचलन गर्ने अधिकार हुनु पर्ने जनाए । सरकारले अधिग्रहण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले नै पाउनु पर्ने समेत बताए ।









