काठमाडौं । विराटनगर महानगरपालिकाले उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा विहीबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टीमा ४–१ ले हराउँदै विराटनगरले उपाधि जितेको हो ।
दुबै टिमले ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । दुबै टिमले बराबरी खेलेपछि उपाधिको छिनोफानो पेनाल्टीबाट लागेको हो । सम्झना लावतीले २७ औं मिनेटमा गोल गर्दै बाह्रविसेलाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा लिएको अग्रतालाई बाह्रविसेले दोस्रो हाफमा पनि निरन्तर राख्न सफल भएन । खेलको ४७औं मिनेटमा जमुना मगरले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरी दिलाएका थिए ।
विजेता विराटनगरले ट्रफिसँगै पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ । यता, उपविजेता बाह्रविसेले भने तीन लाख पाएको छ ।