८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकूद विधेयक छिट्टै निष्कर्षमा पुग्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा, विधायन समितिमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् र विभिन्न खेलकूद सङ्घबीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ ।

राष्ट्रिय खेलकूद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा सांसदहरुले राष्ट्रिय खेलकूद परिषद्मा नेपाल ओलम्पिक कमिटी र खेलकूद सङ्घलाई अनिवार्यरुपमा आबद्धता गर्न आवश्यक रहेको सुझाव दिनुभयो । ओलम्पिक कमिटी र सङ्घलाई परिषद् आबद्धता मात्रै गर्ने वा दर्ता नै गर्नुपर्ने कानूनी व्यवस्था गर्ने भन्ने बारेमा सांसदहरुले विभिन्न कोणबाट सुझाव दिनुभएको सदस्य ठगेन्द्रप्रकाश पुरीले जानकारी दिनुभयो ।

समितिको मङ्गलबार बस्ने बैठकले सांसदहरुले दिनुभएका सुझावलाई समेटेर विधेयकलाई निष्कर्षमा पु¥याउने सभापति परशुराम मेघी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकमा खेलकूद सङ्घ, ओलम्पिक कमिटी र परिषद्बीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थितरुपमा व्यवस्थापन गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो ।”

ओलम्पिक कमिटी र परिषद् मातहत रहेका सङ्घबीचको सम्बन्धलाई व्यवस्थित तुल्याउँदै समग्र खेलकूद क्षेत्रको विकासलाई समयानुकूल तुल्याउने ऐन तर्जुमा गर्न आवश्यक रहेको सांसदहरुले बैठकमा सुझाव दिनुभएको थियो ।