८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा– बागलुङ सडकको यात्रा जोखिमपूर्ण



अ+ अ-

पर्वत । मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ खण्डमा जुनसुकै बेला पनि पहिरो खस्नसक्ने भएकाले जोखिमपूर्ण बनेको हो ।

वर्षा शुरु भएपछि धेरै ठाउँमा पहिरो झरेको छ, भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वत खण्डमा पर्ने कुश्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँ पुल खण्ड तथा कास्कीमा पर्ने नयाँ पुलदेखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातायात अवरुद्ध भइरहेको छ ।

जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने सम्भावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आह्वान गरिएको सडक स्तरोन्नतिको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका परियोजना प्रबन्धक काशीराज बोहराले बताउनुभयो । निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अवस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो । एउटा स्काभेटर तयारी अवस्थामा राखेर पहिरो हटाउने काम भइरहेको बोहराले जानकारी दिनुभयो । पहिरो जाने स्थान नजिकबाट झोबाङ हँुदै वैकल्पिक सडक रहेको छ ।

सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभिर, आम्बोट र भ्याप्लेखोला नजिकको भिर, चुवा नजिकैका भिरमा पनि पहिरोको उच्च जोखिम छ । पहिरो गएको अवस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुश्मामा स्काभेटर तयारी अवस्थामा राखिएको लामा कन्ट्रक्सनका परियोजना प्रबन्धक गोविन्द भुसालले जानकारी दिनुभयो । गएको वर्ष पनि यी स्थानमा भारी वर्षा हुँदा पहिरो र लेदोका कारण पटक÷पटक सडक अवरुद्ध भएका थिए ।