१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा जोड्ने सडकलाई रु ५० करोड



अ+ अ-

काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका रु ५० करोड छुट्याउने निर्णय गरेको छ । 

प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र रु दुई अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा सङ्घीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट रु ६७ करोड बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । 

उहाँका अनुसार थप रु दुई अर्ब १० करोडले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ । 

प्रदेशस्थित युवा तथा खेलकुदमन्त्री रत्न ढकालले उक्त सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाटै रु ५० करोड बजेट विनियोजन गर्ने निर्णय भएको बताउनुभयो । “यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । 

उक्त सडक मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारी अवस्थित डाँडापारी क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय जनप्रतिनिधिलगायत आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ । जिम्वाले सडक राम्रो भए डाँडापारीका क्षेत्रका मात्र नभई दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाल जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ ।” यसैबीच, उक्त सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोबाट हेटौँडा जोड्ने सकडसँगै बागमती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गत हप्ता निरीक्षण गर्नुभएको थियो । रु ११ करोडमा सम्झौता भएको उक्त पुलको हाल १२ प्रतिशत मात्रै काम भएको छ । 

“पुल पाँच वर्षअघि निर्माण सुरु भएको रहेछ, उक्त पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटन दिइसकेका छौँ, अब यही बाटो भएर राजधानी हेटौँडा जान निकै सजिलो हुन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ ।