काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दाैरान श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो।
दुई मन्त्रीहरूले नेपाल-श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियाे ।
भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो।
भेटमा दुवै मन्त्रीले नेपाल-श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गर्नुभएको थियो। उहाँहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।








