८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने

यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने
अ+ अ-

काठमाडौँ: महान् संगीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार’ यस वर्ष मूर्धन्य एवं प्रतिष्ठित संगीतकार, गायक तथा गीतकार शम्भुजीत बासकोटालाई प्रदान गरिने भएको छ।

अम्बर गुरुङ सालिक संरक्षण समितिले नेपाली संगीत क्षेत्रमा बासकोटाले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागेको जनाएको छ।

समितिको आयोजनामा तथा लभ एन्ड सपोर्ट फाउन्डेसन, मिरिक, दार्जिलिङको सहयोगमा आगामी २७ सेप्टेम्बर २०२६ मा भारतको मिरिकस्थित गोपाल योजन प्रेक्षागृहमा पुरस्कार समारोह आयोजना हुने जनाइएको छ।

समारोहमा नेपाली संगीत क्षेत्रमा अम्बर गुरुङले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। नयाँ पुस्तामाझ गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समितिको भनाइ छ।

आयोजकले ‘हाम्रा स्रष्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन—उहाँहरूको सिर्जना यात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला–संस्कृतिप्रतिको सम्मान हो’ भन्ने सन्देशसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

नेपाली संगीतका मूर्धन्य व्यक्तित्व बासकोटाले नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँले सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक सांगीतिक यात्रा सुरु गर्नुभएको थियो।

संगीत निर्देशक, संगीतकार, गायक तथा गीतकारका रूपमा बासकोटाले नेपाली चलचित्र, आधुनिक, लोक, देशभक्तिपूर्ण तथा भक्ति संगीतका विभिन्न विधामा योगदान दिनुभएको छ। उहाँले ३६४ भन्दा बढी नेपाली चलचित्रमा संगीत निर्देशन गर्नुभएको तथा दुई हजारभन्दा बढी गीतमा संगीत सिर्जना गर्नुभएको जनाइएको छ। उहाँले सात सयभन्दा बढी रेडियो तथा टेलिभिजन विज्ञापनका जिङ्गलमा समेत संगीत दिनुभएको छ।

नेपाली टेलिभिजनको प्रारम्भिक विकासक्रममा समेत बास्कोटाको महत्वपूर्ण भूमिका रहेको छ। नेपाल टेलिभिजनको लोगो तथा समाचारको थिम संगीत निर्माण गर्नुका साथै ‘संगीत संगम’, ‘गीतगाथा’ र ‘मनको रहर’ जस्ता कार्यक्रमको परिकल्पना, निर्माण तथा निर्देशनमा उहाँले योगदान दिनुभएको थियो। बासकोटाले नेपालको पहिलो रियालिटी सो प्रतिभाको डबलीको परिकल्पना र निर्देशन समेत गर्नुभएको थियो ।

चलचित्र संगीततर्फ ‘प्रेमपिण्ड’, ‘सीमारेखा’, ‘बसन्ती’, ‘राजमती’ र ‘सेतो बाघ’ उहाँका चर्चित कृतिमध्ये पर्छन्। ‘गौँथली’ चलचित्रमा ५९ वटा गीतका लागि संगीत सिर्जना तथा निर्देशन गर्नु पनि उहाँको सांगीतिक यात्राको उल्लेखनीय उपलब्धि मानिन्छ।

सिर्जनात्मक कर्मसँगै बासकोटाले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक र चलचित्र विकास बोर्डको पहिलो कार्यकारी अध्यक्ष लगायतका जिम्मेवारीसमेत सम्हाल्नुभएको छ। बासकोटाले प्रज्ञा प्रतिष्ठानमा अम्बर गुरुङसंग झण्डै २५ बर्ष सहकार्य समेत गर्नुभएको थियो ।

उहाँले प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, नारायणगोपाल संगीत पुरस्कार, छिन्नलता पुरस्कार, तोयनाथ जेसिस पुरस्कार तथा युवा वर्ष पुरस्कार लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसक्नुभएको छ।