सङ्खुवासभा। सङ्खुवासभामा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्र तथा पहरोको जोखिम भएका क्षेत्रमा बसोकास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार कोशी प्रदेशमा असोज ९ गतेदेखि वर्षाको गतिविधि बढ्दै जाने र धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको प्रशासनले जनाएको छ ।
मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान ‘बुलेटिन’अनुसार असोज ११ गतेसम्म सङ्खुवासभासहित हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय आज सूचना जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा कटानजस्ता विपद्जन्य जोखिम हुनसक्ने भएकाले जिल्लावासीलाई आवश्यक सावधानी अपनाउनआग्रह गरेको छ ।
यही असोज ९ देखि ११ गतेसम्म खोला तथा नदी किनारमा होटल तथा रेस्टुरेन्टमा भेला नहुन, अनावश्यक हिँड्डुल नगर्न तथा माछा मार्न नजान प्रशासनले अनुरोध गरेको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताउनुभयो । नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षा उपाय अपनाउन आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।
बाढी, पहिरो, कटान तथा गेग्रान बहाव आउन सक्ने र होचा भू-भाग तथा नदी तटीय क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन तथा सही सूचना लिन सम्बन्धित सबैमा अनुरोध गरिएको सहायक प्रजिअ कार्कीले बताउनुभयो । प्रशासनले सोहीअवधिमा बेलुका ६ः०० बजेसम्म मुख्य राजमार्गबाहेक अन्य भित्री, कच्ची तथा ग्रामीण सडकमा सवारीसाधन सञ्चालन रोक लगाएको उहाँले जानकारी दिनुभयो ।
सम्भावित विपद्को समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीलगायत विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूलाई आवश्यक आपत्कालीन सामग्रीसहित तयारी अवस्थामा रहन पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन र स्थानीय तहसँग आवश्यक समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको सहायक प्रजिअ कार्कीले बताउनुभयो ।
जिल्लाका १० वटै विद्यालय तीन दिन बन्द हुने
यहाँका १० वटै स्थानीय तहका सबै विद्यालय तीन दिन बन्द हुने भएका छन् । भारी वर्षाको सम्भावनाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि असोज ९ देखि ११ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
भारी वर्षा, हावाहुरी, चट्याङ तथा अन्य मौसमजन्य जोखिमलाई ध्यानमा राखी विद्यार्थीको सुरक्षाका लागि बिदा दिने निर्णय गरेका हुन् । जसका कारण जिल्लाका सामुदायिक, धार्मिक, निजी, आवासीय तथा संस्थागत सबै विद्यालयलाई दुई दिन बन्द रहनेछन् । सम्भावित वर्षा र त्यसबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
उत्तर-दक्षिण कोशी सडकमा यात्रा नगर्न आग्रह
यही असोज ९ देखि १२ गतेसम्म भारीदेखि अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान भरिएपछि सङ्खुवासभामा उत्तर-दक्षिण कोशी सडकखण्डमा यातायात सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसमविद्हरू तथा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको मौसम पूर्वानुमानसहित प्रशासनले जारी गरेको उच्च सतर्कता अपनाउने सूचनाका आधारमा उत्तर-दक्षिण (कोशी) राजमार्गअन्तर्गतको सडकखण्डमा जोखिम बढ्न सक्ने भन्दै आवागमन सञ्चालनमा रोक लगाइएको हो ।
उत्तर-दक्षिण (कोशी) सडक आयोजनाले जारी गरेको सूचनाअनुसार मकालु गाउँपालिकाको नेताभिरबाट भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मका विभिन्न सडकखण्डमा पहिरो खस्ने, सडक भासिने तथा नदी कटानका कारण आवागमन अवरुद्ध हुनसक्ने सम्भावना रहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक आयोजनाले आवश्यकताअनुसार उपकरण परिचालन गर्न निर्देशनसमेत दिइसकेको जनाएको छ ।
भारी वर्षाको अवधिमा अत्यावश्यक कामबाहेक यातायात सञ्चालन तथा आवागमन नगर्न सबैलाई अनुरोध गरिएको छ । सूचनामा अत्यावश्यक अवस्थामा यात्रा गर्नुपर्ने भएमा सडक आयोजनामा कार्यरत प्राविधिक तथा अपरेटरहरूसँग सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ । रासस








