८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा
अ+ अ-

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म निरन्तर वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानलगायतका सम्भावित विपद्को प्रतिकार्यका लागि देशभरको सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

सम्भावित विपद् भएलगत्तै खोज तथा उद्धार, राहत तथा घाइतेको उपचारमा परिचालन गर्न नेपाली सेनाले हवाई साधनसहित विशेष टोलीलाई चार स्थानमा तयारी अवस्थामा राखेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा ठूलो सङ्ख्यामा जनशक्ति र उद्धार सामग्री परिचालन गरेका छन् ।

सुरक्षा निकायले देशभर ६४९ स्थानलाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी पूर्वसचेतना, निगरानी र प्रतिकार्यको तयारी अघि बढाएका छन् । बढी वर्षा हुने आकलन गरिएको गण्डकी र लुम्बिनी प्रदेशमा सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको छ । नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका बस्ती तथा विगतमा डुबान प्रभावित क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले काठमाडौँ, सुर्खेत, धनगढी र रुपन्देहीलाई केन्द्र बनाएर हवाई साधनसहितका विशेष उद्धार तथा विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको  जानकारी दिनुभयो ।

काठमाडौँमा चारवटा हेलिकोप्टरसहितको उद्धार टोलीलाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । सुर्खेतमा एक हेलिकोप्टर र एक स्काई ट्रक, धनगढीमा अगुष्टा हेलिकोप्टरसहितको आपत्कालीन उद्धार टोली तथा रुपन्देहीको बुटवलमा आवश्यक साधनसहितको विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

“सम्भावित चक्रवात र त्यसबाट उत्पन्न हुनसक्ने विपद्लाई मध्यनजर गरी चार स्थानमा हवाई साधनसहितको टोली तयारी अवस्थामा राखेका छौँ,” प्रवक्ता बस्नेतले भन्नुभयो, “सबै पृतना र गणलाई पनि उच्च सतर्क अवस्थामा राखिएको छ ।”

सेनाले देशभरका आठवटा पृतना मुख्यालय तथा जिल्लास्थित सबै गुल्म र गणलाई आवश्यक जनशक्ति, उपकरण र साधनसहित तत्काल प्रतिकार्यमा खटिन सक्ने अवस्थामा राखेको छ । सम्भावित विपद्मा घाइते तथा बिरामीको चाप बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी तथा सातै प्रदेशमा रहेका सैनिक फिल्ड अस्पतालमा आकस्मिक स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सेवा तयारी अवस्थामा राखिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा ११ हजार ७६३ फौज परिचालन गरेको छ । उद्धारका लागि ८२ वटा -याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायम महानिरीक्षक (डिआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । तालिमप्राप्त गोताखोर, मेडिकल टोली र ड्रोन टोलीसमेत जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीले नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रवाह गर्नुका साथै स्थानीयलाई सम्भावित जोखिमबारे सचेत गराइरहेको छ । नदी किनारमा दाउरा सङ्कलनलगायतका काममा पुग्ने स्थानीयलाई समेत जोखिमबारे जानकारी गराउने कार्य भइरहेको छ ।

नेपाल प्रहरीले पनि विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सुरक्षाकर्मीलाई थप मद्दतका रूपमा जोखिमयुक्त क्षेत्रमा परिचालन गरेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) अविनारायण काफ्लेले बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेस प्रदेशका कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रमा माइकिङ तथा पूर्वसचेतना अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मधेस प्रदेशमा ७४ र काठमाडौँ उपत्यकामा ५२ स्थानलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी सोहीअनुसार पूर्वतयारी गरिएको छ ।

सुरक्षा निकायले मौसम सक्रिय रहने अवधिभर जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी राख्ने जनाएको छ । स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यकताका आधारमा थप जनशक्ति, उद्धार सामग्री तथा हवाई साधन परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

सम्भावित विपद्को प्रारम्भिक सूचना प्राप्त हुनासाथ सम्बन्धित स्थानमा तत्काल प्रतिकार्य टोली पठाउने गरी सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।