८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
अ+ अ-

भोजपुर, ८ असोजः भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको बताउनुभयो । यो रोगको सङ्क्रमण सुरु भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने भएको उहाँले बताउनुभयो । विशेष गरी खुर्सानी पाक्ने र बिक्रीका लागि योग्य हुने बेलामा रोगको असर सबैभन्दा बढी देखिने गरेको छ । रोगका कारण किसानको वर्षभरिको मेहनत खेर गइरहेको उहाँको भनाइ छ ।

खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा कोत्रे रोगले बढी समात्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन् । रोगका कारण खुर्सानीलाई रातो बनाएर बोटमा अड्याउनै नसकिने स्थिति बनेको किसानको गुनासो छ ।

स्थानीय कृषक सम्झना प्रधानका अनुसार मुख्य रोगका रूपमा कोत्रे (डढुवा) नै देखिए पनि खुर्सानीमा अन्य बहुआयामिक समस्या एकैसाथ थपिएका छन् । खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने जस्ता रोगले उत्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

“खुर्सानीमा डढुवा रोगको महामारी देखिएपछि हामी चिन्तामा परेका छौँ,” उहाँले भन्नुभयो, “डढुवा रोगले सबैभन्दा बढी आर्थिक क्षति पु¥याएको छ । खुर्सानी बारी नै सखाप पारेको अवस्था छ ।”

रोगको सङ्क्रमण एउटा बोटबाट तीव्र रूपमा अन्य बोटमा सर्ने भएकाले थप क्षति हुन नदिन किसानहरूले बिग्रिएका र सङ्क्रमित बोट उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनभित्रै सम्पूर्ण बारीभरि फैलिने भएकाले यसलाई नियन्त्रण गर्न कठिन भइरहेको किसानको भनाइ छ ।

भोजपुरमा पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले साना तथा मझौला किसान यसतर्फ आकर्षित भएका थिए । उत्पादनको सुरुवातमै रोग र किराको प्रकोप देखिएपछि उत्पादनमा गिरावट आउने अवस्था रहेको किसानको भनाइ छ ।

खुर्सानीमा मुख्य समस्या देखिएको क्षेत्रमा स्थल तालिम सञ्चालनसँगै, विषादीको प्रयोग तथा अन्य रोकथामका उपायका विषयमा जानकारी दिने काम भईरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढेको उहाँको भनाइ छ ।

उहाँका अनुसार यस वर्ष भोजपुर जिल्लाभर करिब ५४५ हेक्टरमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गत आर्थिक वर्षमा भोजपुरमा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा रु २३ करोड भित्रिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बरालले बताउनुभयो ।

जिल्लाको पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । यी क्षेत्रमा उत्पादन भएका खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायतका सहर निकासी हुने गर्दछ ।रासस